१७ कार्तिक २०७४, शुक्रबार

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर तीनका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पुष्पकमल दाहालबिरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा दर्ता हुन सकेन् । उजुरीकर्ताको उजुरी ऋत बमोजिम नभएको भन्दै निर्वाचन कार्यालयले उजुरी दर्ता नगरेको हो ।

बिहीबार मनोनयन पत्र दर्ता गरेका उम्मेदवारकाबिरुद्ध शुक्रबार दावी बिरोध गर्ने समयसीमा तय भएको थियो । त्यही अनुरुप भरतपुरकी तारा बरालले जनयुद्धका नाममा सयौं नेपाली नागरिकको हत्या गरेको आरोप लगाउदै दाहाल उम्मेद्वार बन्न नसक्ने दाबी सहित तीन नम्वर क्षेत्र निर्वाचन अधिकृत समक्ष उजुरी दर्ता गराउन पुग्नु भएकोे थियो । चितवनको बाँदरमुडे घटना देखि अन्य बिभिन्न घटनाका पुराना फाईल सहित उहाँ उजुरी दर्ता गर्न पुग्नु भएको हो ।

मनोनयन पत्र दर्ता भएको उमेदवारको योग्यताका सम्वन्धमा दाबी बिरोध गर्न सो क्षेत्रको अर्को उमेदवार वा उसको प्रतिनिधिले मात्रै पाउने कानुनी ब्यवस्था भएकाले तारा बराल उमेदवारको बिषयमा उजुरी गर्न योग्य नदेखिएकाले उँहाको उजुरी माथि थप प्रक्रिया अगाडि नबढाईएको ३ नम्वर क्षेत्रका निर्वाचन अधिकृत शम्भुराज रेग्मीले बताउनु भयो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन निर्देशिका २०७४ ले तोके अनुरुपको व्यक्ति प्रमाणका आधारमा आएमात्रै दर्ता हुने नत्र त्यो दर्ता नहुने कानुनी ब्यवस्था रहेको छ । यसैबीच चितवनमा कुनै पनि उमेदवारका बिरुद्ध उजुरी दर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

LIVE TV