
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानको प्रधानमन्त्रीमा शिन्जो आबे पुनः निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी आबेलाई बधाई सन्देश पठाउँदै पारस्परिक सहयोग, समझदारी र नेपाल–जापान मैत्री सम्बन्धका विविध पक्ष माथि चर्चा गर्नुभएको छ ।
प्रजातन्त्र र जनता–जनताबीचको सम्बन्ध एवं सम्पर्कले दुवै मुलुकबीचको सम्बन्धलाई विकसित तुल्याएको चर्चा गर्दै उहाँले कठिन अवस्थामा समेत जापानले नेपाललाई सहयोग गरेकोमा त्यसको प्रशंसा गर्नुभयो ।
प्रधानमन्त्री देउवाले नेपालको सामाजिक–आर्थिक विकासमा जापानबाट निरन्तर प्राप्त सहयोग र सद्भावको सराहना गर्दै नेपाल र जापानबीचको सम्बन्ध भविष्यमा अझ सुदृढ एवं प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका आबेलाई पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नयाँ कार्यकालका लागि शुभकाना दिनुभएको छ । दुई तिहाई मत सहित जापानको प्रधानमन्त्रीमा बुधबार पुनः निर्वाचित भएका आबेलाई बिहिबार समाजिक संजाल ट्वीटर मार्फत शुभकामना दिँदै ओलीले भन्नुभएको छ ,‘दुई तिहाई बहुमतसहित नयाँ कार्यकालको लागि निर्वाचित जापानी प्रधानमन्त्री सिन्जो अबेलाई शुभकामना।’
जापानको दुवै सदनले आबेलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । हालैमात्र सम्पन्न निर्वाचनमा उनको दल लिबरल डेमोक्रेटिक पार्टीले दुईतिहाई बहुमत हासिल गरेको थियो। उनी जापानको इतिहासमै चारपटक प्रधानमन्त्रीमा निर्वाचित भएर त्यहाँ लामो शासन गर्ने प्रधानमन्त्री बनेका छन्।