१६ कार्तिक २०७४, बिहीबार

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको लागि एक हजार चार सय पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।मंसिर २१ गते ४५ जिल्लामा हुने निर्वाचनका लागि एक हजार चार सय पाँच जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधि सभाको १ सय २८ सिटका लागि पाँच सय २२ जना को उम्म्ेदवारी परेको छ । प्रदेश सभाको २ सय ५६ सिटका लागि आठ सय ८३ जनाको उम्मेद्वारी परेको आयोगले जनाएको छ । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा महिला सहभाागिता कम भएपनि मनोनयन दर्ताको दिन उम्मेद्वारहरुको उत्साहजनक सहभागिता पाइएको आयोगले जनाएको छ ।

मनोनयन पत्र दर्ता गरेका उम्मेद्वारहरुको सूची बिहीबार नै प्रकाशित गर्ने आयोगले जनाएको छ । कात्तिक १७ गते उम्मेद्वारको विरोधमा उजुरी दिन सकिने र कात्तिक १८ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

कात्तिक १९ गते उम्मेद्वारले नाम फिर्ता लिने कार्य सम्पन्न भएपछि अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । साथै आयोगले उम्मेद्वारको मनोनयनपत्र दर्ता भएपछि सबै उम्मेद्वारलाई निर्वाचन आचारसंहिता लागू भएकोले कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV