१६ कार्तिक २०७४, बिहीबार

काठमाडौं । मंसिर २१ मा हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि बिहीबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । ४५ जिल्लामा हुने निर्वाचनबाट प्रतिनिधि सभामा एक सय २८ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ दुई सय ५६ वटा निर्वाचनका लागि उम्मेदवारी दर्ता भएका हुन् । दर्ता भएका उम्मेदवारहरुमा केही विवादित र चर्चित छवि बनेका व्यक्तिहरु पनि रहेका छन् ।

भष्टाचारको मुद्दा खेपिरहेको कांग्रेस नेता तथा पूर्व सह महामन्त्री गोविन्दराज जोशीले आफ्नै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दर्ता गरेका छन् । उनले तनहुँको क्षेत्र नं. १ मा पौडेलको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन् । आधिकारी उम्मेदवारका लागि पहल गरेका जोशीले नपाएपछि कांग्रेसकै झण्डा बोकेर निर्वाचन अधिकृतको कार्यालय गएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

प्रहरी महानिरीक्षकको दौडमा रहेका पूर्व प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार दिएका छन् । माओवादीको सहकार्यमा कांग्रेस नेतृत्वको सरकारले सिलवाललाई प्रहरी महानिरीक्षक हुन रोकेपछि उनी सरकारसँग असन्तुष्ट हुँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट पुगेका थिए । प्रहरी सेवाबाट राजीनामा दिएपछि उनी केही समय अगाडि एमालेमा प्रवेश गरेका थिए । पार्टीले उनलाई ललितपुर क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गर्राका छन् । राज्यले अन्याय गरे पनि न्याय माग्नको लागि जनताको माझमा गएको उनको प्रतिक्रिया छ ।

चर्चित गायिका कोमल वली केही समयअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नेकपा एमाले प्रवेश गरेकी थिइन् । प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नं. ३ बाट एमालेले टिकट दिने भनेपछि उनले राप्रपा त्यागेर एमाले प्रवेश गरेका थिए । तर उनलाई एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । पार्टीले धोका दिएको भन्दै उनले उम्मेदवारी दिएको बताएकी छिन् । लामो समय रेडियो नेपालको जागिर छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेकी थिइन् ।

विवादस्पद छवि बनाएका गणेश लामाले पनि काभ्रे १ क बाट प्रदेश सभा उम्मेदवार बनेका छन् । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा आबद्ध लामा पार्टी एकीकरणसँगै कांग्रेसको उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएका छन् । लामाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । उनीविरुद्ध हातहतियार तथा खरखजना तथा फिरौतिको मुद्दा बिचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV