१६ कार्तिक २०७४, बिहीबार

एजेन्सी। बेलायती रक्षा मन्त्री माइकल फालनले आफ्नो पदबाट राजीनामा दिएका छन् । १५ वर्ष अघि एक महिला पत्रकारसँग अभद्र व्यवहार गरेको आरोप लागेका फालनले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

रक्षा मन्त्री फालनले आकस्मिक रुपमा आफ्नो राजीनामा बेलायती प्रधानमन्त्री टरीज मे समक्ष बुझाएका थिए । उनले राजीनामाको कारण नखुलाएपनि आफ्नो व्यवहार मर्यादित नभएको स्वीकार गरेका छन् । फालन विरुद्ध सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक पटक पत्रकार जुलिया हार्ले ब्रुअरको घुँडा छोएको आरोप लागेको थियो ।

तर हालै उक्त प्रकरणबारे पुनः समाचारहरु आएपछि फालन माथि दबाब बढेको थियो । उनले उक्त घटनाप्रति मंगलबारमात्रै क्षमा मागेका थिए । उनले गएको साढे तीन वर्षसम्म बेलायती रक्षा मन्त्रीको रुपमा काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको पनि बताए ।

प्रधानमन्त्री मेले फालनले आफु विरुद्ध लागेका आरोपहरुलाई गम्भीर रुपमा लिंदै एउटा उदाहरण प्रस्तुत गर्न खोजेको भन्दै त्यसको प्रशंसा गरेकी छिन् । पत्रकार जुलिया हार्ले ब्रुअरले त्यो पुरानो घटना भएको र उनले आफुलाई पीडित नठानेको बताइन् ।

LIVE TV