१५ कार्तिक २०७४, बुधबार

स्पृहा श्रेष्ठ

काठमाडौँ । माओवादी नेता बालकृष्ण ढुंगेल आठ वर्षदेखि फरार अपराधीको सूचीमा थिए । खुल्लम खुल्ला हिडेपनि उनलाई प्रहरीले पक्राउ गरेको थिएन । तर मंगलबार ढुंगेललाई प्रहरीले पक्राउ गरेर जेल चलान गरेको छ । राजनीतिक पहुँचको आधारमा पक्राउ पर्न नसकेका ढुंगेलले अन्ततः कानूनलाई जित्न सकेनन् तर उनको जस्तै मिल्दोजुल्दो अपराधका फरार अपराधी देशभर एक लाख २१ हजारको संख्यामा छन् । तर उनीहरु कुन पहुँचको आधारमा कानूनको कब्जामा आउन सकेका छैनन् त ?

मंगलबार पक्राउ परेका माओवादी नेता बालकृष्ण ढुंगेल अब बाँकी रहेको १२ वर्ष पाँच महिना २२ कैद सजायको भुक्तानका लागि काठमाडौंको डिल्लीबजारस्थित सदरखोरको पाहुना बनेका छन् । बालकृष्ण ढुंगेल आठ बर्षदेखि फरार अपराधीको सूचीमा थिए । उनी जस्तै फरार अपराधी नेपालमा एक लाख २१ हजारभन्दा बढी रहेको सर्वोच्च अदालतको तथ्यांक छ । पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एउटा छुट्टै सेल नै बनाएर फरार अपराधीहरुको खोजी गरिरहेको छ ।

ब्युरोले आर्थिक वर्ष २०६७÷६८ देखि फरार अपराधीहरुको खोजी गरेर पक्राउ गर्न शुरु गरेको थियो । पछिल्लो तीन वर्षमा नै ब्युरोको प्रहरी टोलीले एक सय १४ गरी आठ वर्षमा तीन सय ३७ जना पक्राउ गरिसकेको छ । उनीहरुबाट प्रहरीले एक हजार ९७ वर्ष चार महिना १२ दिन कैद र चार अर्ब नौ करोड ७० लाख रुपैयाँ जरिवाना असुल उपर गरिसकेको छ ।

यो आर्थिक वर्षको चार महिनामा नै दुई महिलासहित १७ जना पक्राउ गरेको तथ्याङ ब्युरोसँग छ । देशमा ७५ वटा जिल्ला अदालत, १४ वटा पुनरावेदन एवं उच्च अदालत र सर्वोच्च अदालतले कैद तथा जरिवाना सजाय सुनाउने गर्दछ । जसमा विक्रम सम्वत १९९० देखि हालसम्म ६८ हजार मुद्दाहरु किनारा लागिसकेका छन् । किनारा लागेका मुद्दाबाट एक लाख २१ हजार अपराधी सावित भएका छन् ।

देशभरका फरार अपराधीहरुबाट एक लाख नौ हजार तीन सय ७३ वर्ष पाँच महिना २१ दिन कैद सजाय असुल गर्न बाँकी छ । अपराधी सावित भएकाहरुबाट ११ अर्ब ३६ करोड ७१ लाख रुपैयाँ जरिबाना असुल गर्न बाँकी रहेको सर्वोच्च अदालतको तथ्यांक छ । फरार अपराधीको संख्या र जरिवाना रकम बढ्दै गएपछि अदालतले २०६६ सालमा फैसला कार्यान्वयन निर्देशनालय नै गठन गरेको थियो । निर्देशनालय गठन भएपछि हरेक अदालतमा फैसला कार्यान्वयन शाखा राखेर फरार अपराधीहरुको सूची तयार पार्ने गरिएको छ । त्यही दण्ड र जरिवानाको सूचीको आधारमा प्रहरीले फरार अपराधीको खोजी गर्ने गदर्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV