१५ कार्तिक २०७४, बुधबार

ज्योतिकुमार पन्थी

बर्दियाको गुलरियामा खोप नेपाल कार्यक्रम नामको संस्था खोलेर स्थानीयवासीलाई लाखौं रुपैयाँ ठगी गरेर एक जना फरार भएका छन् । दिलबहादुर शाही नामका व्यक्तिले स्थानीय व्यक्तिहरुलाई जागिरको प्रलोभन देखाएर रकम ठगी गरेर फरार भएका हुन् ।

स्थानीय बेरोजगार युवाहरुलाई जागिर दिने भन्दै शाहीले आवेदनका लागि प्रति व्यक्ति एक हजार रुपैयाँ शुल्क असुलेका थिए । संस्था संचालन गर्ने भन्दै उनीले मामाभान्जा नाम गरेको होटलमा आवेदन भराएका थिए । संस्थाको नाममा पाँच सय जना व्यक्तिबाट शाहीले रकम असुल गरेको पीडित बताउछन् ।

शाहीले जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय निकाय गुलरिया नगरपालिकालाई समेत जानकारी नदिई सस्था स्थापना गरेका थिए । ठूलो संख्यामा आवेदन भरेपछि संस्थाको काम बारे सबैले चासो राख्न थालेपछि शाही फरार भएका थिए ।

गुलरिया नगरपालिकामा स्वास्थ्य महाशाखा हेर्ने कर्मचारी सुनिल पाण्डेले खोप नेपाल कार्यक्रम नामको संस्था नभएको र त्यसले कुनै पनि निकासयसँग समन्वय नगरेको पनि बताउनुभयो ।

कुनै निकायलाई जानकारी नै नदिई संचालन गरेको संस्थाले स्थानीय युवाहरुलाई ठगेको भन्दै प्रहरीमा समेत उजुरी परेको छ । प्रहरीले संचालक शाहीको खोजी शुरु गरिसकेको छ । पूरा ठेगाना समेत जानकारीमा नभएको शाहीको पख्र्यौली घर रुकुम भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV