१५ कार्तिक २०७४, बुधबार

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी निर्वाचनका लागि सेना परिचालन गर्ने निर्णयगरेसँगै नेपाली सेनाले तयारी थालेको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि ६४ हजार २० सैनिक परिचालन हुने भएका छन् । निर्वाचनको अन्तिम घेरामा रहने सेनाले मतदानस्थलसहित संवेदनशील ठानिएका स्थानमा सूक्ष्म निगरानी बढाएको छ । त्यसका लागि सेनाले पल्टनलाई नियमित पेट्रोलिङ गर्न निर्देशन दिएको छ ।

स्थान विशेषको सुरक्षा चुनौतीका आधारमा निर्वाचन केन्द्रित सेनाको सुरक्षा फौजले मतदानस्थल र त्यस आसपास क्षेत्रमा अहिलेदेखि नै पेट्रोलिङ थालेको हो । निष्पक्ष र भयरहित निर्वाचन गराउन सेनाले उपत्यकासहितका सबै पृतना कार्यालयलाई सक्रिय बनाएको छ । सेनाले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै बम डिस्पोजल टोली, प्रत्येक पृतनामा हेलिकोप्टर र आवश्यक फौजलाई तैनाथ अवस्थामा राखेको छ ।

यसैबीच सेनाले मुलुकको पछिल्लो राजनीति, निर्वाचन र सुरक्षा अवस्थाबारे छलफल गर्न पृतनापतिहरूको बैठक समेत बोलाएको छ । जंगी अड्डामा यही बिहीबार र शुक्रबार हुने बैठकमा आठवटै पृतानापतिले आआफ्नो क्षेत्रको रिपोर्टिङ गर्नेछन् । सेनाको सुरक्षा घेरामा मतपत्र छापिइरहेको छ भने मतपत्र पुर्याउने जिम्मेवारी समेत नेपाली सेनाले लिएको छ । मतदान केन्द्रमा तेस्रो सुरक्षा घेरामा रहने सेनाले मतपेटिका जिल्लासम्म लैजानेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV