१४ कार्तिक २०७४, मंगलवार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई मधेसको अधिकार स्थापित गराउन आफ्नो पार्टी अझै बढी क्रियाशिल भएर लाग्ने बताउनुभएको छ ।

आज आफ्नै निवास लाजिम्पाटमा राष्ट्रिय जनता पार्टीका विभिन्न स्तरका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उहाँले भन्नुभयो, “वाम गठबन्धन भएपछि तराई मधेसको विषयमा के हुन्छ भन्ने आशंका र भ्रम फैलाइएको छ, जनतालाई अधिकार सम्पन्न बनाउने विषयमा कुनै पनि सम्झौता हुँदैन ।”

अध्यक्ष दाहालले आफ्नो पार्टी र नेकपा(एमाले)बीच चुनावी तालमेल र पार्टी एकताको निर्णय भएपछि त्यसविरुद्ध अनेकन प्रचार भएको उल्लेख गर्दै त्यस्तो प्रचार गर्नेले आफ्नो कमजोरी लुकाउन खोजेको बताउनुभयो ।

आर्थिक समृद्धि र जनताको अधिकार स्थापित गराउने लक्ष्यका साथ वामगठबन्धन भएको छ, उहाँले भन्नुभयो, “हामी जनताको अधिकारका पक्षमा छौ, आर्थिक समृद्धिका पक्षमा छौ, गलत प्रचारले कुनै अर्थ लाग्दैन, अझ हामी जनताको पक्षमा दृढताका साथ उभिन्छौ ।”

अध्यक्ष दाहालले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको घडीमा जनपक्षीय उम्मेदवारलाई विजयी गराउनुपर्ने दायित्व आएको बताउँदै मधेसको मुद्दालाई थप सशक्त बनाउन जरुरी रहेको छ भन्नुभयो ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनको क्रममा आफूले तराई मधेसका विभिन्न स्थानमा सहभागी भएको र जनताको भावनालाई बुझने मौका पाएको स्मरण गर्दै उहाँले आगामी निर्वाचनमा विजय हासिल गर्न प्रतिवद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि एक हजार ३०० बढी मधेसी नेता तथा कार्यकर्ताले बलिदान गरेको स्मरण गर्दै अधिकार प्राप्तिको संघर्षमा आफू निरन्तर लागिपर्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा राजपा सिराहाका अध्यक्ष दिनेशराय यादव र सो पार्टीसंग आवद्ध सुरेश राय, राजकुमार राय, तेजनारायण राय, नरेश राय, सुरेन्द्र महत्तो, नागेन्द्र रायलगायत ३० जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV