१४ कार्तिक २०७४, मंगलवार

प्रदीप

निर्वाचन आयोगलाई विपक्ष बनाई दर्ता गराइएको विभिन्न मुद्दालाई लिएर सर्वोच्चमा मंगलवार सुनुवाई हुँदै छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलाशमा निर्वाचन सम्बन्धी पाँच थान मुद्दाको मंगलवार सुनुवाइ हुने भएको हो ।

सर्वोच्च अदालतमा पछिल्ला दुई सातामा निर्वाचन मिति सार्नेदेखि छपाई भइसकेका मतपत्र बदर गर्ने माग सहित दर्ता भएका मुद्दामा सुनुवाई भइरहेको हो । राजपाका नेता सर्वेन्द्रनाथ शुक्ला, सुनिलकुमार पटेल र भरतकुमार मैनालीको एक एक थान र सीताराम अग्रवालका दुई थान रिट सुनुवाइ हुने भएको हो ।

प्रतिनिधिसभा र प्रदेशससभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गर्नुपर्ने, क्लस्टर छुट्याएर निर्वाचन गर्नुपर्ने माग गर्दै हालसम्म सात वटा रिट परेको अदालतका प्रवक्ता नारायाण पन्थी ले जानकारी दिनुभयो । यता पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओलीविरुद्ध समेत अदालतको मानहानी गरेको भन्दै मुद्दा दायर गरिएको छ जसको समेत मंगलवार सुनुवाई हुने जनाइएको छ । यता निर्वाचनमा खटिने कर्मचारीलाई समेत समानुपातिकतर्फ मतदान गर्ने अधिकार दिन माग गर्दै महान्यायाधिवक्ताको कार्यालयका नायव सुब्बा भरतकुमार मैनालीले रिट दर्ता गराएका छन् । व्यक्तिलाई मतदान गर्न नपाए पनि पार्टीले दिने मत आयोगले खोस्न नपाउने जिकिर उनीहरुको निवेदनमा गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV