१४ कार्तिक २०७४, मंगलवार

इलाम। इलाम नगरपालिकाको साँखेजुङस्थित रत्नकुमार वान्तवा पोलिटेक्निक इन्ष्टिच्युटमा आइतबारबाट पढाइ शुरू भएको छ ।

पोलिटेक्निक इन्ष्टिच्युटमा तीन वर्षे आइएसीएजी पशु विज्ञान विषयमा पढाइ शुरू भएको हो । रू ४० करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ चार वर्षअघि निर्माण थालिएको उक्त शिक्षालयमा करिब रु २० करोड खर्च भइसकेको निर्माण व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष अम्बिका गौतमले बताउनुभयो ।

पहिलो वर्ष पशु विज्ञान, दोस्रो वर्ष कृषि र वन तथा तेस्रो वर्ष खाद्य तथा डेरी विषयको पढाइ शुरू गरिनेछ । छुट्टाछुट्टै तीन विषयमा प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गराइने शिक्षालय मेची अञ्चलमा पहिलोपल्ट निर्माण भइरहेको हो । आइतबार इलाम नगरपालिका–१ का वडाध्यक्ष गौतम, शिक्षालय प्रमुख होमनाथ अधिकारीले पढाइ सुचारू भएको घोषणा गर्नुभयो ।

यहाँ पशु विज्ञान विषय अध्ययन गर्ने ४० जना विद्यार्थी छन् । पाँचजना प्रशिक्षक रहेका छन् । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटिइ)अन्तर्गत निर्माण गरेको उक्त शिक्षालयमा निर्माणको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको गौतमले बताउनुभयो । आगामी वर्षसम्ममा निर्माण सम्पन्न हुनेछ ।

एक सय ५८ रोपनी क्षेत्रफलमा फैलिएको शिक्षालयमा प्रशासनिक भवन, शैक्षिक, छात्रावास, आवास भवन बनाइएको छ । शिक्षालय निर्माणका लागि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल एक्लैले ५० रोपनी जग्गादान गर्नुभएको थियो भने स्थानीयवासीले एकसय रोपनीभन्दा बढी जग्गादान गरेका थिए ।

एक शैक्षिक सत्रमा तीन सय ६० विद्यार्थी अध्ययन गर्नसक्ने क्षमताको शिक्षालय मेची अञ्चलमै पहिलो हो । मेची राजमार्गसँगै जोडिएको साँखेजुङको रूम्दाली डाँडामा शिक्षालय निर्माण भएपछि आसपासका क्षेत्रमा चहलपहल शुरू भएको छ । यसअघि धनकुटा, भक्तपुर, जुम्ला, दाङ, दोलखामा प्राविधिक शिक्षालय स्थापना भइसकेका छन् ।

चिया नीति कार्यन्वयन नभएको गुनासो

राष्ट्रिय चिया नीति कार्यान्वयन हुन नसक्दा किसान, व्यवसायी तथा उद्यमी मर्कामा परेका छन् । विसं २०५७ मा बनेको राष्ट्रिय चिया नीतिमा छोटो समयमै चियालाई अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउने लगायतका बुँदा समेटिका थियो । उक्त चिया नीति कार्यान्वयन नहुँदा किसानले मेहनत र परिश्रम अनुसारको हरियोपत्तीको मूल्य पाउन नसकेको उनीहरूले गुनासो गरेका हुन् ।

चिया नीतिमा राम्रा विषय वस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको सरोकारवालाको भनाइ छ । “चिया उद्यमीलाई छ वर्षसम्म सुलभ दरमा कर्जा उपलब्ध गराउने चिया नीतिमा लेखिएको थियो । तर आजसम्म एक रूपैयाँ कर्जा उपलब्ध भएको छैन्,’ गोर्खा टिस्टेटका प्रमुख उदय चापागाईंले भन्नुभयो ।

चिया नीतिका बारेमा सरकारले चासो नदिँदा चिया उद्यमी पलायन हुनुपर्ने स्थिति सिर्जना भएको छ । अग्र्यानिक चिया र चिया पर्यटनको प्रचुर सम्भावना भए पनि कामदार अभावका कारण गुणस्तरीय टिपाइ नहुँदा तयारी चियाको गुणस्तर दिन प्रतिदिन घट्दै गएको चिया तथा कफी विकास बोर्डका निमित्त प्रमुख केन्द्रकुमार लिम्बूले बताउनुभयो ।

दुई पात एक सुइरो टिप्नुपर्ने चिया, कामदार अभावका कारण दुई फुट लामो टिपाइ गरेको तयारी चियाको समेत गुणस्तर खस्केको उहाँले बताउनुभयो । चिया बगान नजिकै राउण्डप नामक झार मार्ने विषादीको प्रयोगका कारण हरियोपत्तीमा असर देखिएको हो । चियामा विषादी प्रयोग गर्दा विदेशी बजारमा चिया निर्यात गर्न केही कठिनाइ उत्पन्न भएको र चियाको उचित मूल्य पाउन नसकेको फाकफोक थुमका चिया कृषक सोम शर्मा बताउनुहुन्छ । किसान र उद्यमीबीच हरियोपत्तीको मूल्यलाई लिएर भएको विवादका कारण तयारी चियामा समेत असर पुगेको छ । नेपालमा २७ हजार ६८८ हेक्टर क्षेत्रफलमा चियाखेती हुँदै आएको छ भने १८ हजारभन्दा बढी किसान चिया खेतीमा आबद्ध छन् । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV