१३ कार्तिक २०७४, सोमबार

काठमाडौं  । २२ शीर्ष नेताको उम्मेदवारी टुंग्याएको सत्तारुढ नेपाली कांग्रेसले आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि थप ८ उम्मेदवारको नाम तय गरेको छ । कांग्रेस संसदीय समितिको बैठकले बाँकी ८ स्थानमा उम्मेदवार तय गरेको हो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव लड्ने कुल ३० उम्मेदवारको नाम टुंगिएको कांग्रेस निर्वाचन प्रचार–प्रसार समिति संयोजक बालकृष्ण खाणले जानकारी दिनुभयो ।

संसदीय समितिले इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट केशव थापा, सिन्धुली–१ बाट प्रेमचन्द्र दाहाल, सिन्धुली–२ बाट नरेन्द्रजंग थापा, काभ्रेपलाञ्चोक–१ बाट तीर्थ लामालाई टिकट दिने निर्णय गरेको छ । यस्तै सुर्खेत–२ बाट हितराम थानी, प्युठानबाट गोविन्द पोखरेल, सल्यानबाट राजेन्द्रबहादुर थापा र डोटीबाट बीरबहादुर बलायरले प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन लड्ने हुनुभएको छ ।

यसअघि गत बिहीबार बसेको कांग्रेस संसदीय समितिको बैठकले शीर्षसहित २२ जना नेताको उमेदवारी तय गरेको थियो । बैठकले सभापति सहित शीर्ष नेताहरुको क्षेत्र टुंग्याएको थियो ।०००

LIVE TV