१३ कार्तिक २०७४, सोमबार

मोटरसाइकलको लाइसेन्स बनाउन निवेदन दिनुपूर्व लिनुपर्ने टोकनका लागि कोसी अञ्चल यातायात व्यवस्था कार्यालयमा आइतबार बिहानैदेखि हजारौँ मानिस लाइनमा बसे । भिड व्यवस्थापन गर्न प्रहरीले लाठीचार्जसमेत गर्नुप¥यो । प्रहरीको लाठीबाट मोरङ बुढीगंगा– १ का टीकाराम निरौलासहित अन्य दुईजना घाइते भए ।

संखुवासभा कञ्चनपुरका युवा पूर्णचन्द्र न्यौपाने, छक्कर दर्नाल, ईश्वर दाहाललगायत पाँचजना दुई दिन लगाएर लाइसेन्स बनाउन इटहरीस्थित यातायात कार्यालय आए । उनीहरू ११ कात्तिक साँझ ८ बजेदेखि चिसो रातको पर्वाह नगरी लाइनमा बसे । आइतबार दिनभरि भोकैप्यासै लाइनमा बसेर साँझ मात्रै उनीहरूले फारमका लागि टोकन पाए । उनीहरूमध्ये कसैले कात्तिक अन्तिम, कसैले पुस र कसैले माघ महिनामा लाइसेन्सको प्रक्रियाका लागि निवेदन दर्ता गराउने मितिसहितको टोकन पाएका छन् ।

मोरङ कानेपोखरी बयरवनका अमित श्रेष्ठ श्रीमतीका लागि स्कुटीको लाइसेन्स बनाउन आइतबार बिहानै यातायात कार्यालय पुगे । हजारौँको लाइन देखेपछि उनले लाइनमा बस्ने हिम्मत गर्न सकेनन् । उनले एक हजार रुपैयाँ दिएर बिचौलियामार्फत टोकन लिए ।

नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति कृष्ण अधिकारी आफन्तहरूले धेरै गुनासो गरेपछि केही सहयोग गर्न सकिन्छ कि भनेर आइतबार यातायात व्यवस्था कार्यालय पुगे । तर, त्यहाँको अवस्था देखेर उनी पनि चकित भए । पाँच किलोमिटर लामो लाइन । लाइसेन्सको प्रक्रियाका लागि टोकन लिन आएकाको मोटरसाइकलको ताँती र लाइन व्यवस्थापन गर्न प्रहरीले दिइरहेको दबाब देखेर उनी दिक्क भए ।

हजारौँ मानिस लाइनमा बसेका वेला बिचौलियाहरूले निःशुल्क पाइने टोकन (फारम दर्ता गराउने मिति लेखेको चिट) पाँच सयदेखि १५ सय रुपैयाँसम्म बिक्री गरेका थिए । केही बिचौलिया प्रक्रियामा बसेर लाइसेन्स लिएमा महिनौँ लाग्ने र आउँदाजाँदा हजारौँ रुपैयाँ खर्च हुने भएको भन्दै आफूहरूले २० देखि ३० हजार रुपैयाँमा केही दिनमै मोटरसाइकलको लाइसेन्स बनाइदिने भन्दै सम्पर्क बनाइरहेका थिए ।

कोसी अञ्चल यातायात व्यवस्था सवारी अनुमति कार्यालयका प्रमुख श्यामकुमार सिंहले सोचेभन्दा बढी सेवाग्राही आएकाले भिड व्यवस्थापन गर्न समस्या भएको बताए । उनले भिडलाई व्यवस्थापन गर्नकै लागि टोकन लिने व्यवस्था गरेको बताए । पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी राज लम्सालले लामो अन्तरालमा लाइसेन्स खुलाउँदा सोच्दै नसोचेको भिड भएको जानकारी दिए ।

उनले यातायात व्यवस्था कार्यालयले नियमित रूपमा लाइसेन्स दिन व्यवस्था मिलाएमा अहिले देखिएको समस्या र सेवाग्राहीले पाइरहेको यातना अन्त हुने बताए ।

नयाँ पत्रिका

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV