१२ कार्तिक २०७४, आईतवार
फाइल तस्विर

काठमाडौँ  । वाम गठबन्धन निर्माण भएसँगै लोकतान्त्रिक गठबन्धनमा जुटेका केही दलहरु अझै सहमतिमा पुग्न सकेका छैनन् । विशेष गरि मधेस केन्द्रित दलहरु चर्को मोलमोलाईमा उत्रिएपछि लोकतान्त्रिक गठबन्धन अलपत्र परेको हो ।

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल गठबन्धनमा जुटेपछि कांग्रेससँगको चुनावी यात्रामा यी दुई दलको चर्को मोलमोलाई रहेको कांग्रेस नेताहरु बताउँछन् । हालसम्म राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग विभिन्नस्थानमा चुनावी सहकार्य गरेको कांग्रेस संघीय फोरम र राजपासँग सहकार्य गर्ने कि नगर्ने द्विविधामा रहेको कांग्रेस नेताहरुले बताए ।

यतिवेला वाम गठबन्धनलाई देखाउँदै प्रदेश नम्बर २ र ५ मा बलियो उपस्थिति खोजेपछि कांग्रेसले सहकार्य गर्ने वा एक्लै अघि बढ्ने बारे छलफल थालेको एक नेताले बताए । कांग्रेस बलियो रहेका कतिपय स्थानमा समेत मधेस केन्द्रित दुई दलले आफ्नो भाग खोज्ने थालेपछि गठबन्धनकै भविष्य अन्योलमा रहेको बताउँन थालिएको छ ।

यद्धपि केही स्थानमा सहकार्य हुने राजपाका एक नेताले जानकारी दिए । उनका अनुसार लोकतान्त्रिक मोर्चा बनाउने गरि सहमति भए पनि क्षेत्र बाँडफाँटमा सहमति जुट्न नसकेकाले निश्चित स्थानमा मात्र सहकार्य हुन सक्ने देखिएकोछ ।

अर्कोतर्फ प्रदेश नम्बर २ र ५ बाट प्रतिनिधित्व गर्ने कांग्रेसका नेताहरुले भने एक्लै चुनावी मैदानमा जाँदा पनि खासै घाटा नहुने भन्दै नेतृत्वलाई सुझाएका छन् । अझै छलफल जारी रहेकाले सोमबारसम्ममा एउटा निष्कर्षमा पुग्ने दलहरुको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV