१२ कार्तिक २०७४, आईतवार

राजु पौडेल

झापा । बालक लक्ष्मण शिवाकोटीको रहस्यमय मृत्यु र त्यसपछि बिर्तामोडमा भएको गोली काण्डको छानबिन गर्न गृह मन्त्रालयद्धारा गठित उच्चस्तरीय छानविन समितिले काम सुरु गरेको छ ।

गृहका सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय छानविन समितिले आइतबार विहान जिल्ला प्रशासन कार्यालय झापामा आयोजित सुरक्षा समितिको बैठकमा बालक हत्याकाण्ड र बिर्तामोड घटनाको बारेमा बुझेका थिए ।

त्यससँगै छानबिन समितिले दिउँसो मृतक अर्जुनधारा ११ का नरेश थापामगर र बालक लक्ष्मण शिवाकोटीको घरमा पुगी घटना र अवस्थाबारे बुझेको छ । समितिले बिर्तामोडमा घटेको घटनाको बारेमा अनुसन्धान गरी सात भित्र राय सुझावसहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाउने छ ।

शनिबार पीडित, स्थानीय प्रशासन साथै सर्वपक्षीय छलफलबाट आठ बुँद्धे सहमति भएपछि साँझ नै कर्फ्यु हटाउने तयारी गरिए पनि परिस्थिति सामान्य बनिनसकेको भन्दै प्रशासनले कर्फ्युलाई यथावत राखेको छ । कर्फ्यु लागेका कारण बिर्तामोड क्षेत्र ठप्प र सुनसान छ ।

तीन दिनदेखि जारी कर्फ्यु आइतबार साँझबाट हटाउने तयारी भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो । झापाको बिर्तामोड भएको प्रर्दशनमा प्रहरीको गोली लागि मृत्यु भएका मृतक थापामगरको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने र बालकको मृत्युको छानबिन पीडित परिवारका प्रतिनिधिको प्रत्यक्ष सहयोगमा गर्ने निर्णय भएपछि बिर्तामोडको अवस्था सामान्यतर्फ उन्मूख भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV