१२ कार्तिक २०७४, आईतवार
फाइल तस्विर

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लगभग ७२ जिल्लामा उम्मेदवार बाँडफाँट टुंग्याएको वाम गठबन्धनले दोस्रो चरणमा हुने ५ जिल्लामा अझै टुंग्याउन सकेको छैन । सल्यान, चितवन, उदयपुर, सुनसरी र झापामा एमाले र माओवादी केन्द्रबीच भागवण्डामा विवाद देखिएको छ ।

पाँच जिल्लामा विवाद देखिएपछि वाम गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । आइतबार साँझसम्ममा सहमति जुटाइउने गरि छलफल भइरहेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो । समानुपातिक उम्मेदवारको अन्तिम नामावली पेश गर्नुपर्ने अघिल्लो दिनसम्म एमाले र माओवादी केन्द्र ७२ जिल्लाको प्रत्यक्षतर्फको क्षेत्र बाँडफाँट टुंग्याएका छन् ।

तर ५ जिल्लामा दुवै पार्टीका नेताहरुको व्यवस्थापन र दुवै पार्टीको समान रुपमा दावी गरेका क्षेत्रका कारण अन्तिम टुंगो लाग्न सकेको छैन । झापाका पाँचवटै सिट एमालेले दावी गरिरहेको छ भने पार्टी नेता राम कार्कीका लागि छुट्टयाउन आग्रह गरिरहेको छ । अन्तिममा झापा २ माओवादी केन्द्रलाई छाड्ने गरी सहमति हुनसक्ने सम्भावना छ ।

वलियो वामपन्थी पकड रहेको सुनसरी १ मा एमाले र माओवादी केन्द्र दुवैले दावी गरेका छन् । तर, एमाले सुनसरीका पाँच वटै सिट दावी गरिरहेको छ । यसैले सुनसरीमा पनि कुरा मिल्न सकिरहेको छैन ।

झापा नपाएको स्थितिमा माओवादी केन्द्र नेता कार्कीलाई उदयपुरबाट प्रतिस्पर्धा गराउन चाहेको छ । तर यहाँपनि एमालेले दावी गरिरहेको छ । चितवन–२ मा माओवादी केन्द्रले नेता रामबहादुर थापालाई प्रतिष्पर्धामा उतार्न चाहेको छ । एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलपनि यही क्षेत्रमा प्रतिस्पर्धा गर्न चाहन्छन् । सल्यानमा पनि समस्या रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV