१२ कार्तिक २०७४, आईतवार

पोखरा । मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ३१ मतदान केन्द्र थपिएका छन् । गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा २८८ मतदान केन्द्र कायम गरिएकामा अहिले ३१९ पुर्याइएका क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

पोखरा–लेखनाथ महानगरपालिकामा सबैभन्दा बढी २१ मतदान केन्द्र थप गरिएको छ । स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा २१० केन्द्र रहेकामा अहिले बढाएर २३१ कायम गरिएको छ ।

अन्नपूर्ण गापामा २३, माछापुच्छ्रे गापामा २३, मादी गापामा २५ र रुपा गापामा १७ मतदान कायम गरिएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो । ती गापामा क्रमशः २, २, ४ र २ मतदान केन्द्र थप गरिएका छन् ।  गत साउन १ देखि भदौ ३ गतेसम्म जिल्लामा सञ्चालन गरिएको तस्वीरसहितको थप मतदाता नामावली संकलनमा जिल्लाभरबाट ३० हजार ६४१ मतदाता थपिएका थिए ।

गएको असार मसान्तसम्म जिल्लामा दुई लाख २४ हजार ८११ मतदाता कायम रहेकामा अहिले मतदाता संख्या दुई लाख ५५ हजार ४५२ पुगेको छ । यसमा पुरुष एक लाख १९ हजार २९४, महिला एक लाख ३६ हजार १५४ र तेस्रो लिंगी चारजना छन् ।

प्रतिनिधि सभा क्षेत्र नं १ मा ९६ हजार ८४, क्षेत्र नं २ मा ७० हजार ६५१ र क्षेत्र नं. ३ मा ८८ हजार ७१७ मतदाता छन् । प्रदेश क्षेत्र नं १ (क) मा ५० हजार २८९, (ख) मा ४५ हजार ७९५, प्रदेश नं २ (क) मा ३७ हजार ६४३, (ख) मा ३३ हजार ८, प्रदेश नं ३ (क) मा ४६ हजार २५२ र (ख) मा ४२ हजार ४६५ मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगर र चार गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV