११ कार्तिक २०७४, शनिबार
  • दान बहादुर बुढा

मुगु। खाद्यान्न संकट र कर्णाली झण्डै–झण्डै पर्यायवाची झैं मानिन्छ । खाद्य अभावको पिरलो खेप्न बाध्य हुम्लाबासी यतिवेला मुगुमा रहेको खाद्य संस्थानमा धाउन थालेका छन् । आशा गरेकै खाद्य संस्थान रित्तो रहँदा हुम्लाबासीलाई चिन्ताले सताउँन थालेको छ । हुम्लामा प्रत्येक बर्ष भोकमरी हुने गर्दछ । भोकमरीको पीडाले सताएका हुम्लाबासी भोकै पर्ने चिन्ताको घेरामा घोरिन थालेका छन् ।

खाद्य संकटको नियति भोग्न बाध्य हुम्लेली यतिवेला निकै चिन्तित देखिन्छन् । हुम्लाको सिमीकोटमा रहेको खाद्य संस्थानमा खाद्यन्न नआउँदा मुगुमा रहेको खाद्य संस्थानको आशा पनि तुहिएको छ । यस बर्ष पनि हुम्लामा खाद्यान्न अभाव हुन थालेसंगै मुगुमा खाद्यान्नका लागि धाउन थालेका छन् । तर, निराश हुम्लेली मुगुबाट समेत रित्तो हात फर्किन बाध्य छन् ।

समयमै खाद्यान्न ढुवानी हुन नसक्दा हुम्लाका जनतालाई भोकै पर्नुपर्ने हो कि भन्ने चिन्ताले निकै सताउन थालेको छ । सरकारले हुम्लाका जनताका लागि बर्षेनी करोडौको बजेट छुट्याउँने गरेको छ । तर खाद्यान्न ढुवानी गर्ने ठेकेदारले समयमै खाद्यन्न पु¥याउन नसक्दा हुम्लाका जनता अनिकालमा बाँचिरहनुपर्ने अवस्था देखिएको छ । त्यसो त यो वर्ष हुम्लेलीले लगाएको खाद्यन्न खडेरीको काल बन्यो । पीडा माथि पीडा थपिन्छ भनेझैं उनीहरुको नियति पनि यस्तै रह्यो । मुगु सदरमुकाम गमगढीबाट खसी, बोका र च्याग्राबाट खाद्यन्न ओसार्दै अनिकालमा जोहो गर्नुपरे पनि आधा पेट खाएरै दैनिकी काट्नु पर्ने बाध्यता रहेको पीडित स्थानीय बताउँछन् ।

हुम्ला सदरमुकाममा प्रति व्यक्ति ५ देखि ६ किलोसम्म खाद्यान्न खाद्य संस्थानले दिने गर्दछ । त्यति पर्याप्त नभएपछि उनीहरु मुगुका खसी, बोका, भेडा, च्यांग्रा लिएर खाद्यन्न लिन मुगुसम्म पुग्ने गर्दछन् । मुगुमा ३० किलो चामलको १२ सय रुपैयाँ तिर्न बाध्य उनीहरुले हुम्लामै त्यति चामलको ३ हजार ५ सय रुपैयाँ तिर्ने गरेका छन् ।

मुगु सदरमुकाम गमगढीबाट हुम्लाको, श्रीनगर, क्लखे, राया, रोडीकोट, दार्मा, जैर, राया, लगायतका स्थानमा भेडा, खसी, खच्चरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ । तर, पनि खाद्य संकटको समस्या ज्यूँ का त्यूँ रहने गरेको छ । मुगुमा आर्थिक वर्ष २०७३÷२०७४ मा १७ हजार क्वन्टल खाद्यान्न कोटा भए पनि १२ हजार क्वन्टल खाद्यान्न बिक्री भई सकेको खाद्य सस्थान मुगुका प्रमुख भरत खनियनले बताए ।

प्रत्येक बर्ष विकट हुम्लामा खाद्यन्न अभाव हुन्छ । तर खाद्यन्न ढुवानी गर्ने ठेकेदार अनि खाद्य संस्थानकै लापारबाहीका कारण समयमै खाद्यन्न नपुग्ने अवस्था रहेको छ । जसका कारण हुम्लाका जनता भोकै बस्नुपर्ने बाध्यता रहेको छ ।

LIVE TV