११ कार्तिक २०७४, शनिबार

झापा। झापा विर्तामोडको अवस्था आज पनि तनावपूर्ण नै रहेको छ । बालक मृत्यु प्रकरणमा उत्पन्न भएको तनावमा प्रहरीको गोलीबाट एकको मृत्यु भएपछि स्थिति थप भड्किएको हो ।

जिल्ला प्रशासनले विर्तामोडमा शुक्रबार जारी गरेको अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिएको छ । यसैबीच तनावलाई सामान्यकरण गर्न प्रशासनको पहलमा सर्वदलीय बैठक बोलाइएको छ । यसअघि झापाको विर्तामोडमा भएको घटना छानबिनका लागि सरकारले समिति गठन गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको गृहमन्त्रीस्तरीय बैठकले गृह मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।

समितिमा नेपाल प्रहरीका डिआइजी रमेशकुमार भट्टराई, सशस्त्रका डिआइजी चिरञ्जीवी अधिकारी र अनुसन्धान विभागका निर्देशक हरिहर पौडेल रहेका छन्। मन्त्रालयले घाइतेहरुको उपचारको उचित व्यवस्था मिलाइएको समेत जनाएको छ । बालक लक्ष्मण सिवाकोटीका हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले गरेको प्रदर्शनका क्रममा हिंसा भड्किँदा शुक्रबार विर्तामोडमा एक जनाको ज्यान गएको थियो । सो प्रदर्शनका क्रममा ४० जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गरेको गोली प्रहारमा अर्जुनधारा ५ का ३० वर्षीय नरेश थापाको गोली लागि मृत्यु भएको र ६ सर्वसाधारण, नेपाल प्रहरीका २७ तथा सशस्त्र प्रहरी बलका ७ जना घाइते भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV