
रासस अन्तर्राष्ट्रिय आलेख सेवा
–दिलीप शर्मा
म्याड्रिड, स्पेन। स्पेनबाट स्वतन्त्र हुने वा नहुने बिषयमा विवादास्पद निर्णय लिएको एक महिना नपुग्दै स्पेनको क्याटलोनिया क्षेत्रको संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेको छ ।
क्याटलोनियाको स्वतन्त्रताका लागि निर्णय लिने सन्दर्भमा भएकोे गोप्य मतदानलाई एकताका पक्षधरहरुले बहिष्कार गरेका छन् । क्याटलोनिया संसद्मा रहेका १३५ सदस्यमध्ये एकता पक्षधर करिब ५० सांसदले स्वतन्त्रता घोषणा गर्न संसदबाट अनुमोदन गराउन भएको मतदानमा उपस्थिति जनाएनन् अर्थात् मतदानलाई बहिस्कार गरे । मतदानमा सहभागी ८२ जनामध्ये स्वतन्त्रताको पक्षमा ७० जनाले मतदान गरे भने विपक्षमा १० मत प¥यो ।
दुई सांसद्ले मतपत्रमा कुनै पनि समूहको पक्षमा मतदान गरेनन् अर्थात् मतपत्र खाली खसाले । स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटलोनियाले अक्टोबर १ मा विवादास्पद जनमत संग्रह गरेको थियो । स्पेनको सन् १९७८ को संविधानले आत्मनिर्णयको अधिकारको प्रावधान नरहेकोले क्याटलोनिया ले जनमतसङ्ग्रहमार्फत स्वतन्त्रताको पक्षमा लिइएको निर्णय कानून विपरीत हुने वा नहुने यहाँको उच्च अदालत तथा केन्द्र सरकार र प्रशासकको अडान छ । त्यसैले जनमतसङ्ग्रहलाई अवैध भनिँदै आएको छ । यसमा स्पेनी राजा, संवैधानिक अदालत तथा प्रधानमन्त्री लगायत एकताका पक्षधर नेताहरूको एक मत छ ।
यूरोपेली महासङ्घ पनि स्पेनको विखण्डनको विपक्षमानै देखिएको छ । इयू प्रमुख डोनाल्ड टस्कले केही दिन पहिले इयूलाई स्वतन्त्रताको पक्षमा मध्यस्थता गर्न कारलस पुज्डमोनले गरेको अनुरोधलाई अस्वीकार गर्नुभएको थियो । क्याटलोनियाको संसद्ले स्वतन्त्रताको पक्षमा मतदान गरेको भन्दै क्षेत्रीय सरकारले शुक्रबारनै क्याटलोनियाको स्वतन्त्रता भएको घोषणा गरेको छ ।
इतिहास
स्पेनको उत्तरपूर्वी भागमा रहेको क्याटलोनियाकोे राजधानी बार्सिलोना हो । आधुनिक स्पेन र पोर्चुगलसमेत रहेको आइबरेनियन प्रायद्वीप क्षेत्रमा रहेको आरागनकी रानी पेट्रोनिलीया र बार्सिलोनाका धनाढ्य राजा रामोन बेरेन्गुएर चौँथोबीच विवाह भएपछि आरागन र क्याटलोनिया लाई आफ्ना सन्ततिका लागि सन् ११५० स्थापना गरिदिएको राज्य थियो । यसका आफ्नै भाषा, कानून र रीतिरिवाज थिए । उक्त राज्य राजा फिलीप पाँचौँले शासन सम्हाल्नुुपूर्व निर्विवाद रह्यो । सन् १७०७ मा भेलेन्सिया, सन् १७१४ मा क्याटलोनियालाई पराजित गर्दै अन्तिममा सम्पूर्ण प्रायद्वीपमा राजा फिलीप पाँचौँले कब्जा गरेपनि असन्तुष्ट पक्षले त्यसवेलादेखि नै आफ्नो भाषा, भूमि, संस्कृति र जनताको स्वतन्त्रताका लागि सङ्घर्ष जारी राखे ।
सोही समयदेखि क्याटलोनिया ली राष्ट्रवादीहरूले निरन्तर रूपमा स्पेनबाट विभिन्न अधिकारका माग गरिरहेका थिए । स्वतन्त्रताका लागि भएको प्रयासले २०० बर्षको निरन्तरको चर्को दबाबपछि सन् १९३२ मा स्पेन सरकारबाट क्याटलोनिया लाई स्वायत्तताको अधिकार दिएको थियो । तर, सात बर्षपछिनै सन् १९३९ मा स्पेनमा फ्रान्सिस्को फ्रान्को शक्तिमा आएसँगै क्याटलोनियालीले प्राप्त गरेका सीमित उपलब्धि पनि खोसिए । फ्रान्कोले नियोजित ढंगले क्याटलोनिया ली राष्ट्रवादप्रति भएका सम्पूर्ण प्रयत्नलाई दबाएका थिए । उनको शासन कालमा शुद्धीकरणका नाममा हजारौँ क्याटलोनियालीलाई मृत्युदण्डसमेत दिइएको बताइन्छ ।
सन् २००६ मा स्पेनले क्याटलोनियालाई अलग राज्यको मान्यता र कर संकलन गर्न सक्ने अधिकार प्रदान गरेको थियो । तर, सन् २०१० मा स्पेनको संवैधानिक अदालतले सरकारको उक्त निर्णयलाई अवैध घोषणा गरिदियो ।क्याटलोनिया स्पेनकै सबैभन्दा धनी क्षेत्र हो । यहाँ ठूला उद्योगधन्दा छन् । स्पेनका धातु, खानेकुरा प्रशोधन गर्ने उद्योगधन्दा, औषधि तथा रसायनसँग सम्बन्धित उद्योग क्याटलोनियामा नै छन् । यहाँ बार्सिलोनालगायतका प्रख्यात स्थान छन् जसले बर्सेनी लाखौँ पर्यटक आकर्षित गरेको छ । स्पेनको कुल जनसंख्याको १६ प्रतिशत ओगटेको यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा २० प्रतिशतको योगदान दिएको छ ।
(रासस)