१० कार्तिक २०७४, शुक्रबार

शरद आचार्य-प्रकाश सिग्देल

देशभरीका नारी साहित्यकारहरु चितवनमा भेला भएका छन् । चितवनमा नारी साहित्यको विकास गर्ने लक्ष्यका साथ दोश्रो राष्ट्रिय साहित्यिक भेलाको आयोजना गरि चितवनमा नारी साहित्यकारहरु भेला भएका हुन् ।

राष्ट्रिय नारी परिषद् नेपालको प्रथम भेला पोखरामा गरि एकजुट भएका महिला साहित्यकारहरु दोश्रो पटक चितवनमा भेला भई जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रको सामुहिक भ्रमण गर्दै आ–आफ्ना रचना वाचनसंगै अन्र्तक्रिया सम्पन्न गरेका छन् ।

चितवन साहित्य परिषद्को आतिथ्यतामा जिल्लामा जम्मा भएका देशभरका नारी साहित्यकारहरुले हरेक क्षेत्रमा जस्तै साहित्य क्षेत्रमा पनि महिलाहरु पछि पारिएको भन्दै चिन्ता प्रकट गरेका थिए । उनीहरुले नारीहरु भित्र अथाह साहित्यक प्रतिभा हुदाँ–हुदै पनि उनीहरुलाई समाजले नै उपेक्षा गरेकोमा दुःखेसो गरेका थिए ।

स्वदेश तथा विदेशमा रहेर कलम चलाइरहेका नारी श्रष्टाहरुबीच आपसी सदभाव, आत्मीयता बढाउँदै अग्रज र अनुजबीच सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्यसहित दोश्रो भेला चितवनमा गरेको राष्ट्रिय नारी परिषद् नेपालकी उपाध्यक्षमा शान्ति शर्माले बताउनु भयो ।

महिला सशक्तीकरणका क्षेत्रमा पछिल्लो पुस्ता आशावादी रुपमा अगाडि बढेको साहित्यकारहरुको ठहर छ । कार्यक्रम बोल्ने अधिकांश साहित्यकारहरुले सम्भावनाका नयाँ क्षेत्रको पहिचान गर्दै अधिकार र सिर्जनाको क्षेत्रमा महिला सर्जक क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए । भेलामा चितवनकी अग्रज साहित्यकार महिला साहित्यकार गायत्री श्रेष्ठले महिला सशक्तीकरणका लागि पछिल्लो पुस्ता आशावादी रुपमा अघि बढेको बताउनु भयो ।

राष्ट्रिय नारी परिषद् नेपालकी अध्यक्ष भवानी न्यौपानेको अध्यक्षतामा सम्पन्न भेलामा चितवनकी बरिष्ठ साहित्यकार सरस्वती रिजाल लगायत अन्य साहित्यकारहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा चितवनका पुराना साहित्यकार प्रेमविनोद नन्दनले नारी सर्जकहरुलाई एउटै मञ्चमा उभ्याउने यो संस्थाले सम्पूर्ण नारी शक्तिलाई एकतृत गरी अगाडि बढोस् भनी शुभकामना दिनु भएको थियो ।

भेलामा देशभरबाट आएका ६ दर्जन बढी महिला तथा पुरुष सर्जकले रचना वाचन गरेका थिए । भेलामा चितवनका साहित्यकारहरु एल.वी क्षेत्री, पुष्प अधिकारी अञ्जली, धनराज गिरी लगायतले पनि आफ्नो रचना सुनाएका थिए । प्रत्येक चार चार महिनामा देशका प्रमुख शहरहरुमा सम्पूर्ण नारी सर्जकहरुको रचना वाचन र पर्यटकीय स्थलहरुको सामूहिक भ्रमण गर्ने कार्यक्रम अन्तर्गत दोश्रो भेलामा उनीहरूले चितवनको प्रमुख पर्यटकीय स्थलहरु देवघाट, ज्ञानेश्वर वन, सौराहा, शास्वतधाम लगायतका क्षेत्रमा सामूहिक भ्रमण गरेका थिए ।

LIVE TV