१० कार्तिक २०७४, शुक्रबार

काठमाडौँ ।  विश्व बालिका दिवसका अवसरमा काठमाडौँ उपत्यकाका निजी तथा सामुदायिक विद्यालयका १४ देखि १९ वर्षका बालिकाले आज विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् ।

‘नाइस फाउण्डेशन’द्वारा आयोजित ‘स्टयाण्ड अप फर गर्ल’ नामक कार्यक्रममा ती बालिकाले वक्तृत्व कला तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । काठमाडौँ सीतापाइलास्थित ज्योति एकेडेमी, जोरपाटीको नमोनिक मावि, गोकर्णस्थित गोकर्णेश्वर मावि, कीर्तिपुरका मंगल मावि र जनसेवा मावि, ललितपुरको इमाडोलस्थित महालक्ष्मी एकेडेमी, बालकुमारीको शान्ति मावि, कुपण्डोलको प्रगति शिक्षा सदन, ग्वार्कोको प्रभात मावि, भैंसेपाटीको आदर्श मावि र बुङ्मतीको रुद्रायणी मावि तथा भक्तपुरको गणेश माविका बालिका सहभागी थिए ।

‘नाइस फाउण्डेशन’ का राष्ट्रिय निर्देशक जगदीश भट्टराईले बालिकालाई समाजका विभिन्न गतिविधिमा सहभागी बनाएर शिक्षा प्रदान गर्न सकेमा भविष्यमा राम्रो परिवर्तित समाज निर्माण गर्ने परिकल्पनाका साथ यस्तो गतिविधि तीन वर्षदेखि सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो ।

उक्त कार्यक्रमलाई ‘ग्लोवल ग्लो’ नामक संस्थाले समेत सहकार्य गरी १२ विद्यालयमा आत्मविश्वास, साहस, उत्सुकता, आशा, मित्रता, दयामायालगायत विषयमा तल्लो तहदेखि नै सिकाउनका लागि १५ वटा लिट क्लबसमेत स्थापना गरिएको छ । संयुक्त राज्य अमेरिकामा रहेको लिट वल्र्ड नामक संस्था विश्वका १९ मुलुकमा लिट क्लबका रुपमा विस्तार भएका छन् । लिट क्लबका नेपालस्थित निर्देशक जमुना श्रेष्ठले छोरीको सक्षमताले समुदाय परिवर्तन गर्न सक्ने बताउनुभयो ।

‘उज्यालो विश्व, उज्यालो समाज, उज्यालो घर’ भन्ने अभियान लिएको सो क्लबले सामाुदायिक विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा स्टेशनरी सहयोग दिँदै आएको छ । सन् २०१२ देखि संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष अक्टोबर ११ मा विश्व बालिका दिवशमनाउन शुरु गरेको हो ।
विद्यालय सञ्चालक समिति महासंघका अध्यक्ष कृष्णबहादुर थापा, ‘श्री साथी नेपालका अध्यक्ष सरिता सापकोटालगायतले बालिकालाई विद्यालय शिक्षाका अतिरिक्त क्रियाकलापमा आकर्षित गर्न सकेमा मुलुकमा महिला सशक्तीकरण हुन सक्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा करिब २०० बालिका सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV