१० कार्तिक २०७४, शुक्रबार

राजु पौडेल

बालक हत्याको विरोधमा उत्रिएका प्रर्दशनकारी र प्रहरीबीच झापाको बिर्तामोडमा झडप हुँदा एक प्रदर्शनकारीको मृत्यु भएको छ भने सात घाइते भएका छन् । विहानैदेखि स्थितिले उग्ररुप लिएपछि शुक्रबार दिउँसो साढे १ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि बिर्तामोडमा कफ्र्यू लगाइए पनि स्थिति झनै तनावग्रस्त बनेको छ । गत असोज १४ गते अर्जुनधारा ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा समातिएकालाई कारबाही नभएको भन्दै शुक्रबार भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो ।

स्थिति असमान्य बनेपछि कफ्र्यु लगाएर स्थिति नियन्त्रणमा लिन खोजिए पनि प्रदर्शनकारीहरुले प्रदर्शन निरन्तर राखेका थिए । यही क्रममा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा नगरपालिका ११ का ३० वर्षिय नरेश थापाको मृत्यु भएको छ । थापाको पाखुरा र कोखमा गोली लागेपछी उपचारका लागि मेचि अञ्चल अस्पताल तर्फ लादै गर्दा मृत्यू भएको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट बाह्रदशी गाउपालिका राजगढका सुनिल पाठक, मेची नगरपालिका ९ का अशोक बस्नेत, कन्काई नगरपालिकाका नवराज कोइराला अर्जुनधारा नगरपालिका ६ का पुण्य प्रसाद लुइटेल गम्भीर घाइते भएका छन् । त्यस्तै बिर्तामोड नगरपालिका ६ का देबनन्द राजबंशी, माइ नगरपालिका १ दानाबारीका मनी नेपाली र बिर्तामोड नगरपालिकाका विरेन्द्र पौडेल घाइते भएका छन् । घाइतेहरुको मेची अञ्चल अस्पताल भद्रपुर र बिर्तामोडको बि एण्ड सि अस्पताल, बिर्तासिटी अस्पताल र मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीको आक्रोशित भिडले जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रहरी बिटमा आगजनी गरेका छन् भने इलाका प्रहरी कार्यालय बिर्तामोडसगै जोडिएको सडक बिभागको यन्त्रिक कार्यालय परिसरमा राखिएका सवारीसाधनमा आगजनी गरिएको छ । त्यस्तै प्रदशनकारीले बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीको घरमा पार्किङ्ग गरि राखिएको मे १ ज १२१, बा १० च ३०६१ नम्बरको सवारी र मे १ च ९४३ नम्बरको एम्बुलेन्स तोडफोड गरेका छन् भने अन्य दर्जनौ सावारीसाधन तोडफोड गरेका छन् । दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको शव त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV