१० कार्तिक २०७४, शुक्रबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले आगामी मंसिरमा हुने चुनावका लागि निर्माण गर्ने घोषणापत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको धारलाई समेट्ने भएको छ ।

पार्टीका घोषणापत्र मस्यौदा समितिका संयोजक एवं महामन्त्री ध्रुवबहादुर प्रधानको संयोजकत्वमा आज बसेको बैठकले जनताको परिवर्तनको चाहनासहित संविधानसभामार्फत जारी भएको संविधानका अधिकांश विषयलाई आत्मसात् गर्दै मुलुकमा हिन्दूराष्ट्र कायम गर्ने पक्षलाई प्राथमिकतामा राख्ने भएको छ ।

सन्तुलित र सहअस्तित्वको आधारमा परराष्ट्र नीति तथा राज्यले उत्पादन र वितरणमा सबै क्षेत्रमा जनताको पहुँच समान रुपमा स्थापित गर्ने गरी उदार आर्थिक नीतिका पक्षमा पार्टीले वैचारिक दृष्टिकोण बनाउने सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

राजनीतिक स्थिरता, संविधान कार्यान्वयन र चुनावको सुनिश्चिताका लागि पार्टीले लोकतान्त्रिक गठबन्धनमा सहभागिता जनाउनुपरेको विषयलाई समेत घोषणापत्रमा राखिने छ ।

स्थानीय तहको निर्वाचनमा सहभागी भएका मधेशी दललाई सकारात्मक रुपमा पार्टीले हेर्ने र कम्युनिष्ट पार्टीको गठबन्धनलाई आलोचनात्मक रुपमा हेर्ने निर्णय भएको छ ।

यसैबीच सोही पार्टीको काठमाडौँ जिल्ला समितिले आज आयोजना गरेको कार्यकर्ता भेलामा अर्का महामन्त्री राजाराम श्रेष्ठले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण गरी देश र जनताको समृद्धि कायम गर्न सकिने हुँदा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताउनुभयो । उहाँले मुलुकको राष्ट्रिय एकता, प्रजातन्त्र र देशको सार्वभौमताको विषयमा सबै दलको एउटै मत हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV