१० कार्तिक २०७४, शुक्रबार

दानबहादुर बुढा

एकातिर निर्वाचन के होला भन्ने आशंकाहरु उव्जिरहेका बेला अर्कोतर्फ हिमाली र उच्च पहाडी जिल्लालाई निर्वाचनले छोपिसकेको छ । पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राजनीतिक दलहरु मात्र होइन मतदाता पनि उत्साहित देखिएका छन् । मुगु पनि अहिले निर्वाचनको रौनकमा होमिएको छ । कस्ले मार्ला बाजी ? अहिले मुगुमा यही विषय चर्चाको केन्द्रमा रहेको छ ।

आगामी मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा यतिवेला निर्वाचन नहुने कसैले शंकै गरेका छैन । आफ्ना संघीय प्रतिनिधि छान्ने मात्र होइन प्रादेशिक संरचना निर्माणको महत्व समेत बोकेको यो निर्वाचनसँग आम मतदातालाई ठूलै आशा छ । मुगुमा विशेष गरि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनकै प्रतिष्पर्धा हुने देखिएको छ ।

निर्वाचन आफ्नो पक्षमा पार्न राजनितिक दलका नेता तथा कायकर्ता गाँउ गाँउमा निर्वाचन प्रचारमा लागिसकेका छन् । हरेक निर्वाचनमा झैं सडक सञ्जाल, शिक्षा, स्वास्थ्य लगायत विकासका नारा दलहरुका नारा बनेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको मुगुमा दुई प्रदेशसभाका लागि क्षेत्र निर्धारण गरिएको छ । प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमाले र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस प्रतिष्पर्धामा उत्रिदैछन् ।

जिल्लाका ४ वटा स्थानीय तहमध्ये ३ वटामा कांग्रेस विजयी हुँदा एमाले भने एउटामा मात्रै विजयी भएको थियो । यद्यपि स्थानीय तहको चुनावमा यी दुवै पार्टीका प्रमुख र अध्यक्ष पदका उम्मेदवारले पाएको मतको अन्तर भने खासै धेरै छैन ।

एमालेले जितेको र कांग्रेस तेस्रो भएको खत्याड गाउँपालिकामा भने उसले कांग्रेसका उम्मेदवारभन्दा ३०८ मत बढी पाएको छ । त्यहाँ माओवादी उम्मेदवार दोस्रो भएका थिए । २०७० सालको संविधानसभाको चुनावमा यहाँबाट एमालेका उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV