१० कार्तिक २०७४, शुक्रबार

काठमाडौँ । सरकारले पहिलो चरणको निर्वाचनका लागि ५ अर्ब रुपैयाँ निकासा गरेको छ । निर्वाचनका लागि ठूलो परिमाणमा रकम आवश्यक पर्ने देखिएपछि अर्थ मन्त्रालयले निर्वाचन आयोगले माग गरेअनुसार पहिलो चरणमा ५ अर्ब रुपैयाँ निकासा गरेको हो ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दुई चरणमा गर्नेगरी मंसिर १० र २१ मा निर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचनका लागि ५ अर्ब बजेट निर्वाचन आयोगलाई निकासा दिइसकेका अर्थमन्त्रालयले जनाएको छ । अर्थले यसअघि तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि १० अर्ब २९ करोड रुपैयाँ बजेट निकासा दिएको थियो ।

सरकारले आउँदो प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि भन्दै ३२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये ५ अर्ब रुपैयाँ निकासा दिएको मन्त्रालयको भनाइ छ । अर्थले निर्वाचनका लागि बजेट विनियोजन र शीर्षकगत रूपमा मापदण्ड बनाएर कार्यान्वयन गर्ने तयारी गरिरहेको छ । अर्थ मन्त्रालयका अनुसार हालै ३ चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा २० अर्बभन्दा बढी खर्च भएको छ ।

यस्तै, २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सुरक्षासहित ११ अर्ब १० करोड रुपैयाँ र २०५६ को संसदीय निर्वाचनमा सुरक्षासहित २ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV