१० कार्तिक २०७४, शुक्रबार

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टीका संयोजक भट्टराईले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नु भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको घोषणा पत्रमा आर्थिक समृद्धिलाई जोड दिइएको हो ।

नयाँ शक्तिले गत असोज १७ गते एमाले र माओवादीसँग कम्युनिष्ट गठबन्धनमा बाँधिएपछि एउटै घोषणा पत्र तयार गर्ने योजना बनाएको थियो । तर, त्यसको केहीदिनमै बाहिर निस्किएको नयाँ शक्तिले अहिले आफ्नौं छुट्टै प्रतिवद्धतापत्र तयार पारेको हो ।

नयाँ शक्तिले तयार पारेको प्रतिदद्धतापत्रमा नेपाललाई ५ वर्षभित्र अल्पविकसित देशहरुको समुहबाट बाहिर निकाल्ने, १५ वर्षभित्र मध्यम आयस्तर भएको देश बनाउने, २५ वर्षभित्र विश्वका विकसित मुलुकहरुको हाराहारीमा समृद्धि हासिल गर्ने प्रतिबद्धता उल्लेख छ ।

नयाँ शक्तिले संघीय स्तरबाट विकास गरिने रणनैतिक महत्वका योजनाहरु पनि सार्वजनिक गरेको छ। उर्जा, सडक, रेलमार्ग, हवाइ तथा जलमार्ग, केवलकार, हिमाली वृहद पदमार्ग, सिँचाइ, विशेष औद्योगिक क्षेत्र, खानी उद्योग, विज्ञान तथा अन्वेषण र मुलुकको सूचना सुरक्षा लागि एक भू-उपग्रह अन्तरिक्षमा सञ्चालन गर्ने सम्मका लक्ष्य राखेको छ।

नयाँ शक्तिले प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्वसमानुपातिक संसद् र निर्वाचित कार्यकारी शक्ति पृथकिकरण (सासंदहरु व्यवस्थापकीय भूमिकामा सीमित हुनुपर्ने) र पार्टीहरु पूर्ण लोकतान्त्रिकरण हुनुपर्ने जनाएको छ । नयाँ शक्तिले सुसासनको दृष्टिकोणबाट सरकारी तलबभत्ता खाने सबै कर्मचारीहरु पार्टीगत ट्रेड युनियन खारेज गर्ने, अख्तियार सेवाको गठन गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV