९ कार्तिक २०७४, बिहीबार

अनुपप्रकाश पौडेल

कास्की । पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निमार्ण हुने भएको छ । रंगशाला निमार्णका लागि मंगलबार ग्लोबल टेण्डर आव्हान गरिएको छ । ४ सय १७ रोपनी क्षेत्रफलमा फैलने रंगशाला करिब एक अर्बको लागतमा निमार्ण हुने जनाइएको छ ।

रंगशालाको निमार्ण नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले गर्न लागेको हो । रंगशालाको विस्तृत परियोजना प्रस्ताव डिपिआर तयार गरिए पछि टेण्डर आव्हान गरिएको हो । जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमूख प्रकाश बरालका अनुसार टेण्डरबाट ठेकेदार छनौट भएपछि निमार्ण कार्यले गति लिने छ । यसले पोखरा र यस आसपासको क्षेत्रको खेलकुद गतिविधिमा ठूलो योगदान दिने बरालको भनाइ छ ।

रंगशालामा करिब ३० हजार दर्शक क्षमताको प्याराफिट निर्माण गरिने जनाइएको छ । त्यहाँ अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदानसहित एथ्लेटिक्स ट्रयाक पनि रहने छ । रंगशाला निमार्ण पछि खेलाडी उत्पादन र प्रतियोगिता आयोजना गर्न सहयोग पुग्ने पूर्व अन्तर्राष्ट्रिय फुटवल खेलाडी एवम् प्रशिक्षक राजेन्द्र तामाङको भनाइ छ ।

आगामी सन् २०१९ मा नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद सागलाई लक्षित गर्दै परिषद्ले रंगशाला निमार्ण गर्न लागेको हो । दुई बर्ष भित्र रंगशाला निमार्ण सम्पन्न हुने जिल्ला खेलकुद विकास समिति कास्कीले जनाएको छ ।

सागका केही खेलहरु पोखरामा समेत हुने भएको छ । पोखरामा भलिबल, आर्चरी, लनटेनिस, टेनिबल, महिला फुटबल, ह्यान्डबल हुने जिल्ला खेलकुद विकास समिति कास्कीले जनाएको छ । पोखरामा अहिले रहेको रंगशालामा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV