९ कार्तिक २०७४, बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्न खोजे विघटित संसद स्वतः पुनस्र्थापित हुने चेतावनी दिएका छन् । उनले भने, ‘त्यसो भयो भने स्थिति जटिल हुन्छ । हामीलाई विश्वास छ सर्वोच्चले यो बुझ्नेछ ।’

बिहिबार लखन पन्तद्वारा लिखित आधुनिक नेपालको इतिहास नामक पुस्तकको बिमोचन कार्यक्रममा बोल्दै प्रचण्डले प्रदेश र प्रतिनिधिसभा निर्वाचन नहुने अवस्था आए संसद पुर्नस्थापना हुने बताए । उनले भने,‘ निर्वाचन प्रक्रिया सुरु भई मनोनयन समेत दर्ता भइसकेकाले संसद विघटन गरिएको हो । यदी निर्वाचन रोकाउने काम भए संसद स्वत पुनःस्थापित हुन्छ ।’

उनले चुनाव नभए देश जटिलतातिर जाने चेतावनी समेत दिए । निर्वाचन आयोगले छापेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपत्र फरक फरक रहेको उल्लेख गर्दै प्रचण्डले मतदाताहरुले आफ्नो अधिकार प्रयोग गर्न कुनै समस्या नभएको समेत सो क्रममा बताए ।

उनले सरकारलाई चेतावनी दिँदै भने, ‘ निर्वाचनलाई प्रभावित गर्न खोजिए देश र संविधानको लागि राम्रो हुन्न । यो देशमा परिवर्तनकारी मिल्न खोज्यो भने ठूलठूला षड्यन्त्र हुन्छन्, अहिले पनि भइरहेको त्यही हो ।’

प्रचण्डले संविधानको कार्यान्वयका लागि पनि तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड दिए ।  बुधबार सर्वोच्च अदालतले मतपत्र छपाइबारे निर्वाचन आयोगसँग जवाफ माग गरेपछि निर्वाचन सर्ने सक्ने खालका आशंकाहरु भइरहेको बेला प्रचण्डबाट यस्तो धारणा आएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV