८ कार्तिक २०७४, बुधबार
  • सुवास लामिछाने

पर्वत । जलबिद्युत आयोजना निर्माणको जिम्मा लिएका ठेकेदारले आयोजना स्थलमा सञ्चालनमा ल्याएको क्रसर उद्योगबाट उत्पादित सामग्रीहरु आयोजना निर्माण कार्यमा मात्र प्रयोग गर्न पाउँछन ।

यस्ता क्रसर उद्योगहरुले उत्पादित सामग्रीहरु अन्यत्र बिक्री बितरण गर्न पाउँदैनन । तर पर्वतमा सञ्चालित उद्योगहरु रातरात निर्माण सामग्रीहरु अन्य ठेकेदार र निर्माण आयोजनाहरुमा बिक्री गरेको पाइएको छ । यसरी अनाधिकृत रुपमा निर्माण सामग्री बिक्री गर्दा पनि स्थानीय प्रशासन भने मौन बनेको छ ।

मोदी इनर्जी प्रालिले पर्वतको मोदी गाउँपालिका र कुस्मा नगरपालिकामा निर्माण गरिरहेको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलबिद्युत आयोजनाका ठेकेदार कम्पनीले सञ्चालन गरेको क्रसर उद्योगले अवैधरुपमा निर्माण सामग्री बिक्री गरेको हो । आयोजनाको सिभिल तर्फको ठेकेदार कम्पनी आशिष, नयाँबाटो, फेवा जेभिले सञ्चालन गरेको क्रसर उद्योगले बिभिन्न क्षेत्रमा अबैध रुपमा गिट्टी जथा गिट्टी जन्य बस्तु बिक्री गरेको भेटिएको हो ।

ठेकेदार कम्पनीले आयोजनाको क्षेत्र भित्र र आयोजनाको प्रयोजनको लागि मात्र निर्माण सामग्री उत्पादन र खपत गर्न पाउँछ । त्यसका लागि आयोजनाको स्वीकृत वाताबरणीय प्रतिवेदन भित्र रहि क्रसर प्लान्ट राख्ने बिद्युत बिकास बिभागबाट स्वीकृति पाएको छ ।

उक्त क्रसर उद्योगले रातको समय पारेर दोबिल्ला फलेबास सडक पक्की गर्ने काममा तथा मोदी गाउँपालिकामा निर्माण भैरहेको १५ मेघावाट क्षमताको मध्यमोदी जलबिद्युत आयोजनामा समेत सामग्री पठाइरहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतको २०७१ साउन १ गतेको निर्णयले आयोजनाको क्षेत्रभित्र मात्र क्रसर उद्योगबाट उत्पादित मालसामान प्रयोग गर्ने पाईने अथबा अन्यत्र ब्यापारिक प्रयोजनमा प्रयोग गरेको पाईएमा कानुन अनुसारको कारवाही गरिने निर्णयमा उल्लेख छ । तर उद्योगले खुलेआम सामाग्री बिक्री बितरण गरे पनि कार्बाही हुन सकेको छैन ।

मोदी इनर्जी प्रालिले २०७४ असारमा उत्पादन दिने भनेको आयोजनाले अझै उत्पादन दिन नसक्दा आयोजना सञ्चालक र क्रसर उद्योग सञ्चालकको मिलेमतोमा रहेको हुनसक्ने आशंका स्थानीयले गरेका छन् । आयोजनाको अहिले सम्म ९२ प्रतिशत मात्रै पुरा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV