८ कार्तिक २०७४, बुधबार
  • दीपक भट्ट

रामेछाप । वामगठवन्धन भित्र व्यापक असन्तुष्टि व्यक्त गर्दै आगामी मंसिर १० गते हुने निर्वाचनमा वामगठवन्धन विरुद्ध वागी उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका तीन जना उम्मेदवार आफ्नो उम्मेदवारी फिर्ता लिनको लागि सेनाको हेलिकोप्टर चडेर जिल्ला सदरमुकाम मन्थली आएका छन् ।

पार्टी नेता तथा वामगठवन्धन बिच चारदिनको लामो प्रयासपछि एमाओवादी पार्टीका शिर्ष नेतृत्वले प्रतिनिधिसभा तर्फ वागी उम्मेदवारी दिएका पार्टी नेता मैनकुमार मोक्तान र पूर्वसभाषद लक्ष्मी गुरुङ्गलाई समानुपातिक कोटामा राख्ने आवश्वासन दिएपछि उनीहरु आफ्नो उम्मेदवारी फिर्ता लिने सहमती भएका हुन् ।

उम्मेदवारी फिर्तापछि उनीहरुले आफुहरुका लागि पार्टी भन्दा ठूलो केही हुन नसक्ने भन्दै पार्टीको हितलाई ध्यानमा राखी आफुहरु उम्मेदवारी फिर्ता लिन वाध्य भएको सार्वजनिक रुपमा वताएका थिए । तर एमाओवादी पार्टीको विश्वस्त श्रोतले भने वुधवार विहान देखी शिर्ष नेताहरुसँग भएकोे वार्तापछि तीन मध्ये दुई जनालाई समानुपातिक तर्फको सासंद कोटामा राख्ने सहमती भएपछि विना विभागीय राज्य मन्त्री श्यामकुमार श्रेष्ठले नै उनीहरुलाई सेनाको हेलिकोप्टर चढाएर नाम फिर्ता लिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुर्याएका थिए ।

यसरी वामगठवन्धन बिरुद्ध वागी उम्मेदवारी दिएर नाम फिर्ता लिनेहरुमा एमाओवादीका पूर्व सभाषद एवं प्रतिनिधिसभाका लागि वागी उम्मेदवार दिएकी लक्ष्मी गुरुङ्ग, प्रदेशसभा सदस्य (क) तर्फ सोही पार्टीका केन्द्रिय आयोजक कमिटी सदस्य हेमन्त पौडेल र प्रदेससभा (ख) तर्फ सोही पार्टीका पोलिटव्युरो सदस्य एवं जिल्ला संयोजक मैनकुमार मोक्तान रहेका छन् ।

उनीहरु १२ः५० वजे मुख्य निर्वाचन कार्यालयमा पुगी मनोनयन फिर्ता गरी सोही हेलिकोप्टर मार्फत पुनः काठमाण्डौं फर्किएका थिए । उम्मेदवारी मनोनयनका वखत पार्टीले पुरानो तथा त्यागी कार्यकर्ताहरुलाई न्याय दिन नसकेकाले न्यायप्रेमी कार्यकर्ताहरुको समर्थनमा आफुहरुल उम्मेदवारी दिएको र आफुहरुले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने वताएका थिए ।

मनोनयन दर्ता गरी काठमाण्डौं पुगेका उनीहरुले काठमाण्डौंमा नै वसेर पार्टीका नेताहरुसँको आन्तरीक सहमती पछि आकस्मिक रुपमा हेलिकोप्टर चार्टर गरी मन्थली आइपुगेका थिए । उनीहरु सँगै विनाविभागीय राज्य मन्त्री श्यामकुमार श्रेष्ठ पनि तत्काल सोही हेलिकोप्टर मार्फत काठमाण्डौं फर्किएका छन् ।

उनीहरुसँगै अन्य ४ जना उम्मेदवारहरुले पनि आजै उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए । उम्मेदवारी फिर्ता लिनेहरुमा राष्ट्रिय प्रजातान्त्रीकका प्रतिनिधिसभा तर्फ लालवहादुर घिसिङ्ग र सोही पार्टीवाट प्रदेशसभा (क) र (ख) वाट दिपवहादुर तामाङ्ग र रामकुमार थापा रहेका छन् । उनीहरु तिनै जनाले आफ्नो पार्टीले नेपाली काँग्रेस आवद्ध लोकतान्त्रीक गठवन्धनलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएको मनोनयन फिर्ता लिने कुरा वताएका थिए ।

स्वतन्त्र तर्फवाट प्रदेशसभा (ख) मा उम्मेदवारी दिएका पेम्वा दोर्जे तामाङ्गले पनि आफ्नो नाम फिर्ता लिएका छन् । नाम फिर्ता लिनेहरुको सख्या ७ जना पुगेको पनि मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
यसरी ७ जनाले आफ्नो मनोनयन फिर्ता गरेपछि अब रामेछाप जिल्लावाट उम्मेदवारहरुको संख्या १७ रहेको छ ।

जसमध्ये स्वतन्त्र तर्फ ४ जना मात्र रहेका छन् प्रतिनिधिसभा र प्रदेशसभा तर्फ उम्मेदवार दिने पार्टीहरुमा काँग्रेस, एमाले, माओवादी, लिभरल डेमोक्रेटीक पार्टी, नेपाल दलित पार्टी, राजपा नेपाल, नेकपा माले, देशभक्त गणतान्त्रीक मोर्चा, नयाँ शक्ती नेपाल, संघियसमाजवादी फोरम नेपाल, मगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय समाजवादी नेपाल र एकीकृत राप्रपा राष्ट्रवादी पार्टी मात्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV