८ कार्तिक २०७४, बुधबार

काठमाडौं । उत्तर पश्चिमी वायु सक्रिय भएकाले देशभर नै चिसो बढेको छ । उत्तर पश्चिमी वायु भारतको जम्बुकास्मिरबाट हिमाली क्षेत्र हुँदै नेपाल प्रवेश गरेको तथा राति आकाश खुला भएकाले देशभरी नै चिसो बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति आकाश खुला हुँदा पृथ्वीको सतह चिसिएकाले तापक्रम घट्छ । मंगलबार ११ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम बुधबार बिहान ९ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ ।

सामान्यतया कात्तिक १५ गतेसम्म काठमाडौंको न्यूनतम तापक्रम औसतमा १२ डिग्री सेल्सियस रहन्छ । तर यो वर्ष मंगलबार एकैदिन ४ डिग्री सेल्सियस घटेको काठमाडौंको तापक्रम बुधबार पनि २ डिग्री घटेको छ ।

मनसुन सकिएसँगै पश्चिमी वायु सक्रिय हुने भएकाले चिसो बढ्नु स्वभाविक हो । गएको २४ घण्टामा जुम्लाको न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस र जोमसोमको ४ दशमलव ५ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV