७ कार्तिक २०७४, मंगलवार

कृष्ण पाण्डे

रुपन्देही । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रुपन्देही सियारी गाउँपालिकाको छपिया अहिले माछा पालनको आकर्षणको केन्द्र बन्दैछ । उत्तरतर्फ लहरै फैलिएको चुरे पर्वत । त्यही पर्वतको काखैमा छ, समथर छपिया । छपिया अहिले माछा उत्पादनको केन्द्र बन्ने कसरतमा छ । ३२ वर्षअघिदेखि माछा पालन थालिएको रुपन्देहीको सियारी गाउपालिकामा ७ वर्षअघिदेखि अभियानमुखी माछा उत्पादन थालिएको हो ।

सुरु सुरुका दिनमा घरायसी प्रयोजनका लागि माछा पालन गरिने छपिया अहिले व्यवसायीक माछा पालनतर्फ अग्रसर देखिएकोछ । पहिलो पटक गौरव गौतमले २०५१ सालमा २० हजार रुपैयाँबाट व्यवसायीक रुपमा माछा उत्पादन सुरु गरेका थिए । उनले माछा उत्पादनलाई अझ बढाउन पहिलो पटक ५ बिघा जमिनमा करिब ३ करोड रुपैयाँ बराबरको लगानीमा रिर्सोट समेत सञ्चालनमा ल्याएका छन् । अहिले उनले १२ जनालाई रोजगारी समेत दिएका छन् ।

छपियामा मात्रै हैन, सूर्यपुरा, धमौली, मानमटेरिया, कम्हरिया, मैनहिया, हर्नैया र पश्चिम अमुवा पनि माछापालनको आकर्षणको केन्द्र बनेको छ । यी आठ गाउँलाई समावेश गरी प्रधानन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मत्स्य जोन कार्यक्रम समेत लागु गरिएको छ । रुपन्देहीमा माछा उत्पादनमा अझै प्रगति हुनसक्ने माछा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष तथा माछा व्यवसायी पुण्य प्रसाद चौधरीको ठम्याई छ ।

अहिले रुपन्देही माछा उत्पादनका हिसाबले देशभरकै तीन जिल्लामध्येको एकमा पर्छ । देशभरमै धेरै माछा उत्पादन हुनेमा बारा र मोरङ हुन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार रुपन्देहीको कूल ११ सय हेक्टर क्षेत्रफलमा वार्षिक ५३ सय मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । रुपन्देहीमा सिल्भर कार्प, विग हेड कार्प, रहु, भ्याकुर, कमन लगायतसात प्रकारका माछा उत्पादन हुने गरेको छ ।

रुपन्देहीका २ हजार २ सय ५० जति किसान माछा पालनमा संलग्न छन् । व्यवसायीक रुपमै माछा पालनमा सक्रिय छपिया अहिले मत्स्य पर्यटकीय केन्द्र बनाउने अभियानमा जुटेको छ । छपियाको १ सय ६७ हेक्टर क्षेत्रफलमा १ हजार २ सय माछापोखरी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV