७ कार्तिक २०७४, मंगलवार

इर्फान अलि

तराईमा मनाईने छठ पर्व सुरु भएको छ । तराईमा मात्र मनाईदै आएको छठ पर्व पछिल्ला वर्षहरुमा मुलुकका विभिन्नस्थानमा मनाउन थालिएको छ । सरकारले समेत मुलुकभर सार्वजनिक विदा दिन थालेको छ । पर्साका विभिन्नस्थानमा छठको विशेष रमझम सुरु भएको छ ।

मंगलबारबाट सुरु भएको छठ पर्वको पहिलो अर्थात चौथीको दिन व्रत बस्नेहरु अरवा–अरवाइन गरी चोखीनीति हुने गर्दछन् । व्रतालुहरूले आमिष भोजन परित्याग गरी शुद्ध निरामिष भोजन गर्दछन् । यसो त छठ व्रतालुहरूले असोज कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि कात्तिक स्नान शुरु गरी शाकाहारी हुने चलन छ भने केही चौथीको दिनदेखि शाकाहारी हुने गर्दछ ।

छठ पर्वको शुरुसंगै तराईमा पोखरी, नदी, तलाउहरू सरसफाइ गर्ने र सिगार्ने चलन छ भने पोखरी तथा तलाउमा पूजा गर्ने चलन छ । वीरगंजको छपकैया, बजार छपकैया, नगवा, इनर्वा, घडिअर्वा, रानीघाट, पानीटङ्की, मुर्ली, तेजारथटोल, पिपरा, रामगढवा, लक्ष्मणवा र श्रीसिया नदी तथा सिन्घा नदी आसपासमा छठको पूजा गर्न सुरु गरिएको छ । घडीअर्वा, रानीघाट, मुर्लीमा बर्षेनी सुविधा सम्पन्न तरिकाले छठघाटको सजावट गर्न थालिएको छ ।

विशेषगरी छठमा ब्रत बस्न तथा पूजा गर्नका लागि बस्ने ठाउमा सिगार्ने गरिन्छ । छठको दोस्रो दिन व्रतालुहरू लौकाको तरकारी, रहर–मुङ्को दाल, साग, खाने चलनछ । यसपटक पञ्चमी तिथि दुई दिन परेको छ । मङ्गलवार र बुधवार पञ्चमी तिथि परेका कारण दुई पुर्ण शाकाहारी खाने गरिन्छ । पञ्चमी र अर्ना एकै तिथिमा परेको छ । खर्नाको दिन व्रतालुहरू दिनभरि उपवास बसेर बेलुकी सूर्यास्तपछि खीर, रोटी, पुडी बनाएर परिवारजनसंग खाने चलन छ ।

छठपूजाको मुख्य दिन षष्ठी अर्थात् साँझघाटको दिन व्रतालुहरू निर्जल व्रत बस्ने र दिउँसो पवित्र कपडा लगाई पोखरी, नदी, तलाउनिर अस्ताउंदो सूर्यलाई ठेकुवा, भुसुवा, केरा, फलपूmल, पान, सुपारी, उखु आदिले अर्घ दिई पूजा गर्ने गर्दछ । षष्टीको भोलिपल्ट सप्तमीमा उदाउंदो सूर्यलाई अर्घ दिएर छठपूजाको समापन गर्ने चलनछ । यो दिनलाई पारण भनिन्छ ।

छठका व्रतालुहरूमध्ये केहीले पारणको दिनदेखि नै मांसाहारी भोजन शुरु गर्ने गर्दछन् । खासगरी पारणको सांझ माछा–भात खाने प्रचलन पनि छ । विशेषगरी असोज कोजाग्रत पूर्णिमा देखि कात्तिक स्नान गर्नेहरूले कात्तिक पूर्णिमाको दिनसम्म स्नान गरी बेलुका मांसाहारी भोजन लिने चलन छ ।

LIVE TV