७ कार्तिक २०७४, मंगलवार

काठमाडौँ । राजनीतिक अस्थिरताले विकास खर्च नभइरहेका बेला अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिटेन्स बृद्धि पनि ठप्प भएको छ । गत बर्षसम्म छ प्रतिशत बढीको बृद्धि रहेको रेमिटेन्स यस आर्थिक वर्षमा शुन्य प्रतिशतकै हाराहारीमा मात्र बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक बर्षको पहिलो दुई महिनामा रेमिटेन्स ६ दशमलव ६ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब ७४ करोड रुपैयाँ भित्रिएको थियो । तर, अहिलेको अवस्थालाई हेर्ने हो भने रेमिटेन्स बृद्धि दर लगभग शुन्य छ ।। रेमिटेन्स नबढेका कारण शोधनान्तर घाटा पनि गत वर्षकै हाराहारीमा पुगेको छ । चालु आर्थिक बर्षको पहिलो महिनाबाटै शोधनान्तर घाटा सुरु भएको थियो ।

अहिले घाटा साढे तीन अर्ब रुपैयाँ हाराहारी पुगेको राष्ट्र बैंकले जनाएको छ । गत बर्ष पनि दसैंतिहारपछि नै तरलता अभाव चर्किएको थियो । गत बर्ष बैंकहरुले निक्षेपको तुलनामा ऋण लगानी बढि गरेका कारण अभाव चर्किएर ब्याजदर दोब्बरले बृद्धि भएको थियो। यसपाली भने रेमिटेन्स र शोधनान्तर घाटाका कारण तरलता संकट आउने देखिएको छ । सरकारले गत जेठपछि खर्च बढाएका कारण तरलता सहज हुँदै गएको थियो । यसले गर्दा साउनबाट ब्याजदरमा केही सुधार देखिन थालेको थियो । मुद्दति निक्षेपसँगै बचतको ब्याज दर घटेको थियो ।

विश्व बैंक तथा एसियाली विकास बैंकले सरकारी लक्ष्य साढे सात प्रतिशतको आर्थिक बृद्धि संभव नभए भन्दै चार प्रतिशत हाराहारी हुने प्रक्षपण गरिरहेका बेला रेमिटेन्ससमेत स्थिर अर्थतन्त्रमा थप चुनौती देखिएको छ । विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स स्थिर भएका बेला उच्च आयातले शोधनान्तर घाटा बढ्दा भुक्तानी सन्तुलनमा असर पर्ने राष्ट्र बैंकको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV