७ कार्तिक २०७४, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्धारित मितिमा हुने र यसले संघीय लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपालका लागि अमेरिकी राजदूत अलाइन बी टेप्लिजसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री देउवाले स्थानीय निकायको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता र हेको बताए। उनले भने, ‘निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो सेवा, सुविधा जनताको घर आँगनमै प्रदान गर्न शुरु गरिसकेका छन्, यसबाट स्थानीय प्रजातन्त्र सुदृढ र बलिलो हुँदै जान थालेको छ।’

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि जनताको उत्साहजनक सहभागिता हुने विश्वास उनले व्यक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिए। प्रधानमन्त्री देउवाले नेपाल सरकारले संविधानको कार्यान्वयन गर्न तीनै तहको निर्वाचनलाई प्राथमिकता दिएको र संविधानको कार्यान्वयबाट मात्र लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरेको डा. भट्टराईले जानकारी दिए।

सो अवसरमा राजदूत टेप्लिजले अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुदान सहयोगका विविध पक्षमा जानकारी दिएकी थिइन्। एमसिसीमार्फत नेपाललाई अमेरिकी सरकारले सडक पूर्वाधार, विद्युत् प्रसारण लाइन विस्तारलगायत क्षेत्रको विकास र विस्तार गर्न हालै ५० करोड अमेरिकी डलर उपलब्ध गराएको थियो। सो रकम हालसम्मकै उच्च अनुदान रकम हो।

प्रधानमन्त्री देउवालाई राजदूत टेप्लिजले नेपालले एमसिसी अनुदान प्राप्त गरेकामा बधाई दिँदै खर्च गर्ने प्रक्रियाका बारेमा पनि जानकारी दिएको भट्टराईले बताए। रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV