६ कार्तिक २०७४, सोमबार

 

काठमाडौँ । पहिलो चरण र दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको मत गणना एकै पटक सुरु गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । पहिलो चरणको मतपेटिका विशेष सुरक्षामा राखिने आयोगको तयारी रहेको छ ।

पहिलो चरणको मतगणना तुरुन्तै गरिए त्यसको परिणामले दोस्रो चरणलाई असर पर्नसक्ने भन्दै निर्वाचन आयोगले एकसाथ मत गन्ने तयारी गरेपनि मतपत्रको सुरक्षाको विषयमा भने चिन्ता गरिएको छ ।

३२ जिल्लामा सम्पन्न हुने पहिलो चरणमा मतदान भइसकेका मतपत्रसहितका मतपेटिका सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको रेखदेखमा राखिने बताइएको छ । मतपेटिकाको सुरक्षाको व्यवस्था गृहमन्त्रालयले गर्ने छ । गृह मन्त्रालयले मंसिर १० र २१ मा गरि दुई चरणमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि ९८ हजार म्यादी प्रहरीको भर्ना पनि धमाधम गरिरहेको छ ।

मतपेटिका सुरक्षा भने नियमित प्रकृया अनुरुप नै तीन तहमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले गर्ने छ । पहिलो चरणको निर्वाचनको मतपरिणाम तत्काल सार्वजनिक गरिए त्यसले दोस्रो चरणमा हुने निर्वाचनमा असर पर्न सक्ने भन्दै एकै समयमा मतगणना गर्ने निर्णय निर्वाचन आयोगले गरेको हो ।

यसअघि तीन चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा चाहिँ मतदान भए लगत्तै मत गणना थालिएको थियो । दुई भिन्न दिनमा निर्वाचन हुने भए पनि मंसिर २१ गते साँझ ५ बजेबाट मात्र मतगणना गर्ने कार्यतालिका बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV