६ कार्तिक २०७४, सोमबार

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले सरकार छाड्ने भएका छन् । एमालेसँग गठबन्धन गर्न पुगेको माओवादी केन्द्रका मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बिनाविभागीय बनाएपछि सरकार छाड्ने भएका हुन् ।

यसअघि नै सरकार छाड्ने उद्घोष गरेको माओवादीले निर्वाचन नहुने षड्यन्त्र भएको भन्दै पछाडि हटेको थियो । आइतबार पहिलो चरणको निर्वाचनका लागि मनोनयन दर्ता भएपछि भने सरकार छाड्ने तयारी गरेको बताइएको छ । छलफलमा रहेको बताउँदै सोमबारसम्ममा सरकार छाड्ने आफूहरुको तयारी रहेको माओवादीका नेताहरुले बताएका छन् ।

वाम गठबन्धनले उम्मेदवारको टुंगो लगाइसकेपछि माओवादीका मन्त्रीहरुले सरकार छाड्न लागेका हुन् । उम्मेदवार विवाद भए वाम गठबन्धनको सहकार्य तोडिन सक्ने र कांग्रेससँग फेरि सहकार्य अघि बढाउनुपर्ने संसयमा माओवादी केन्द्र थियो । आपसी सहमतिमा वाम गठबन्धनले ३२ जिल्लामा उम्मेदवार तय गरेका छन् ।

यस्तै, पार्टीका प्रभावशाली नेता सरकारमा सहभागी हुँदा चुनाव प्रचारप्रसारमा समेत अप्ठ्यारो पर्ने भएपछि माओवादी सरकारबाट बाहिरिने भएको हो । पार्टीका प्रभावशाली नेता कृष्णबहादुर महरा र जनार्दन शर्मा बिनाविभागीय हैसियतमा सरकारमै छन् ।

माओवादी मन्त्रीहरुको बहिर्गमन चिकित्सा शिक्षा विधेयकसँग पनि जोडिएको छ । सरकारले चिकित्सा शिक्षा विधेयक अध्यादेश मार्फत ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट अध्यादेशमार्फत विधेयकलाई राष्ट्रपति कार्यालय पठाउने तयारी रहनुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँग परामर्श गरी सरकारबाट बाहिरिने निर्णय सुनाउने तयारी गरेको माओवादीका नेताहरुको भनाइ छ । सरकारमा माओवादीका ९ मन्त्री र ८ राज्यमन्त्री छन् । प्रधानमन्त्री देउवाले राप्रपा र राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराएसँगै माओवादी मन्त्रीहरुको जिम्मेवारी खोस्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV