६ कार्तिक २०७४, सोमबार

काठमाडौं । संघीय संसद र प्रदेशसभा चुनावका लागि ३२ जिल्लामा आइतबार उत्साहपूर्ण रुपमा उम्मेदवारको मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ सिटका लागि दलहरुले बाजागाजा र नाराजुलुससहित उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभाका लागि दल र स्वतन्त्रबाट गरी ३ सय २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेशसभाको लागि ४ सय ८२ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार यो प्रारम्भिक विवरण मात्र हो । सोमबार पूर्ण विवरण आउने आयोगले जनाएको छ ।

मुख्य दलहरु गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी रहेका छन् । यस्तै एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले वामपन्थी गठबन्धन बनाएका छन् । केही जिल्लामा बागी उम्मेदवारी पनि परेको छ ।

LIVE TV