५ कार्तिक २०७४, आईतवार

बसन्त खतिवडा

ट्राफिक प्रहरीको अभावका कारण वीरगञ्जका ट्राफिक अस्तव्यस्त बनेको छ । ट्राफिक प्रहरीहरु मुख्य चोकमा हुँदा समेत हरेक समय जाम हुने वीरगञ्जको घण्टाघरदेखि आदर्शनगर चोक अहिले सबैभन्दा धेरै जाम हुने क्षेत्रमा पर्दछ । ईरिक्साको प्रवेश र सडक विस्तार नहुँदा वीरगञ्जको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।

एउटै चोकमा चारतिरबाट आउने सवारी मनपर्दी ढंगबाट अघि बढ्न खोज्दा ट्राफिक जाम बढ्दै गएको हो । वीरगञ्जको घण्टाघर देखि आदर्शनगर चोक र मकालु होटल चोक देखि शंकराचार्य गेट सम्म अत्याधिक जाम हुने गरेको छ । यो चोक भएर दैनिक कम्तीमा १० हजार सवारी गुड्ने गर्दछन् । सबै भन्दा बढी जाम घण्टाघर देखि माईस्थान चोक सम्म देख्न सकिन्छ ।

सडक विस्तार नहुनु र नयाँ नयाँ सवारीको आगमनसँगै बीरगञ्ज ट्राफिक व्यवस्थापनको क्षेत्रमा कुरुप देखिन थालेको छ । यता नेपालकै ठूलो नाका वीरगञ्ज भन्सारबाट दैनिक हजारौको संख्यामा आवात जावत गर्ने मालवाहक सवारी र त्यसका लागि छुट्टै सडकको व्यवस्था नहुँदा यो सडक टाँगा देखि ठूला ठूला कन्टेनर सम्मको साझा सडक भएको छ ।

अझ विशेष गरी चाँडवाडको बेलामा छिमेकी जिल्लाहरुबाट बीरगञ्ज र भारतीय बजार रक्सौलमा किनमेल गर्नेको भीड बढेसंगै बीरगञ्जमा ट्राफिक व्यवस्थापन चुनौती बन्ने गरेको छ । बीरगञ्जका फुटपाथमा समेत व्यापारीले सामान राखी विक्री वितरण गर्नाले पैदलयात्रुहरुलाई समेत सास्ती भोग्नु परिरहेको सर्वसाधारणहरुले गुनासो गरेका छन् ।

त्यतिमात्र नभई चोकमा राखिएको ट्राफिक आईल्याण्डमा ट्राफिकहरुको समेत उपस्थिति देखिदैन । नो ईन्ट्री भएको बाटा घाटामा बोर्ड नहुनु र मुख्य सडककै वायाँ साईडमा मोटरसाईकल पार्किङ भएपनि दोहोरो सवारी पार्किङ्ग हुँदा पनि प्रहरीहरुको ध्यान नजाँदा सर्वसाधारणहरु आक्रोशित भएका छन् ।

यता जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरीक्षक रविन्द्रप्रसाद भट्टका अनुसार सडक विभागले सडक विस्तार गर्न नसक्नु र अन्धाधुन्द रुपमा नयाँ सवारीलाई इजाजत दिने कार्यले अहिले बीरगञ्जको ट्राफिक व्यवस्थापन चुनैती बनेको स्वीकार गरेका छन् । वीरगञ्जमा ट्राफिक प्रहरीको उचित व्यवस्थापन र ट्राफिक कडाई गरेर वीरगञ्जमा बढ्दै गएको सवारी जामलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीहरुले ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV