४ कार्तिक २०७४, शनिबार

प्रदीपराज दाहाल

काठमाडौँ । संस्कृति र चाड पर्व नेपाल र नेपालीको गहना नै हो । आफ्नो पुर्खादेखि चलि आएको र विभिन्न धार्मिक ग्रन्थमा उल्लेख भए अनुरुप पूजाआरधना गर्ने हिन्दु परम्परा साँच्चै लोभलाग्दो छ । अझ दाजुभाइ र दिदीबहिनीहरुबीचको सम्बन्ध थप प्रगाढ बनाउने पर्व तिहारको नेपाली समाजमा छुट्टै महत्व छ । दिदीबहिनीले निधारमा लगाईने सप्तरंगी टीका, फोडिने ओखर, लागाईदिने तेल र मखमली मालाको पनि भाइटीकासँगै महत्व गाँसिएको छ ।

दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विधिपूर्वक पूजा गर्ने दिन भाइटीका । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार अर्थात् यमपञ्चकको महत्वपूर्ण दिनको रुपमा पनि चिनिन्छ ।

भाइटीकालाई दाजुभाइसँग भेटघाट हुने, बिग्रेको सम्बन्ध सुधार गरी अझ दीगो बनाउने माध्यमका रूपमा लिइन्छ । भाइटीका लगाउँदा दुवो र तेलले छेक्नु , ओखर फुटाउनु र मखमली माला लगाइदिनुको महत्व छुट्टै छ । पौराणिक कथासँग भाइटीका जोडिएको छ ।

परापूर्वकालमा मृत्युका राजा यमराज बहिनी यमुनालाई भेट्न यमलोकबाट पृथ्वीमा लामो समय आएका थिएनन् । त्यसैले यमुनाले निम्ता दिएर दाजुलाई बोलाएको र त्यो बेलामा यमपञ्चक परेको थियो। यमराज यमपञ्चकभर यमुनाको घरमा बसेको किंवदन्ती रहेको छ । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरि उपहार दिएर दाजुसँग आशीर्वाद लिएदेखि भाइटीका सुरु भएको विश्वास गरिन्छ ।

यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ। दिदीबहिनीले दाजुभाइलाई अघिल्लै दिन भाइटीकाको निम्ता दिने चलन छ । दाजुभाइको मंगलको कामना गर्दै ढोकामा फोडिने ओखरले वाधा अड्चन हट्ने र कालले समेत लाँदैन भन्ने विश्वास गरिन्छ । दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाले मखमली जस्तै कहिल्यै नओइलाउने, सयपत्रीको रंग जस्तो कहिल्यै उडेर नजाने र दूबो जस्तै सधैँ मौलाइरहने विश्वास गरिन्छ ।

त्यसैगरि निधारमा लगाईदिने सप्तरंगी टीकाका सेतो रंग शान्ति, रातो मंगल, हरियो सद्बुद्धि, पहेँलो दीर्घजीवी र निलो निरोगिताको प्रतिक मानिन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिने भएकाले नेपाली समाजमा भाइटीकाको बेग्लै महत्व देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV