३ कार्तिक २०७४, शुक्रबार

शरद आचार्य-प्रकाश सिग्देल

चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको निर्माण कार्यले तीब्रता पाएको छ । उद्योग संघ चितवनको नेतृत्वमा भरतपुर महानगरपालिका १० स्थित घरेलु तथा साना उद्योग कार्यालयको जग्गा भाडामा लिएर केन्द्र निर्माण लागिएको हो ।

गत जेठ अन्तिम साताबाट निर्माण थालिएको प्रदर्शनी केन्द्रमा आगामी कात्तिक १७ गतेबाट अन्तर्राष्ट्रिय स्तरको पोल्ट्री एक्स्पो हुने भएपछि निर्माण कार्यलाई थप तीब्रता दिईएको हो । चितवन प्रदर्शनी केन्द्र निर्माण समितिका संयोजक भेषराज दुवाडीका अनुसार पहिलो चरणमा केन्द्रको प्रदर्शन गर्ने ६० हजार स्क्वायरफिटको क्षेत्रमा प्रदर्शनी गर्न मिल्ने गरी काम सम्पन्न गरिंदैछ ।

पोल्ट्री एक्स्पोपछि सो ठाउँको थप सजावटको काम र अन्य निर्माणको काम अघि बढाईने छ । प्रदर्शनी केन्द्रको निर्माणका लागि फलामका अग्ला खम्बा (पिल्लर)हरु जडान गरेर फलामकै पाताहरुको बीम र डण्डीहरु जडान गर्ने काम सम्पन्न भईसकेको छ । ३५ फिट अग्लो केन्द्रमा १० फिट अग्लो ईटाको पर्खाल लगाएर त्यसमाथि ग्लास उल सहितको टिन पाताले बार्ने काम गरिने छ भने त्यसैले छाना छाउने जनाइएको छ ।

ठूला उपकरण प्रदर्शनी गर्नका लागि ३० हजार वर्गफिट व्यवस्थित खुला ठाउँ समेत रहने जनाएको छ । यस्तै प्रदर्शनी केन्द्रमा तीन हजार वर्गफिटको सूचना केन्द्र पनि स्थापना हुनेछ । केन्द्रमा २ सय ४० स्टल रहने जनाएको छ ।

बाहिरी तापक्रम भन्दा १० डिग्री सेल्सियस कम तापक्रम हुने गरी केन्द्र तयार गर्ने जनाएको छ । प्रदर्शनी केन्द्रमा करिव ५८ प्रतिशत क्षेत्रफल खुल्ला रहनेछ । प्रदर्शनीकेन्द्र स्थलसम्म पुग्न दुई लेनको कालोपत्रे बाटोसमेत बनाइने छ । २ सय वटा मोटरसाइकल, १ सय ५० वटा साना सवारी पार्किङ गर्न मिल्ने छुट्टै पार्किङ स्थल समेत बनाइने उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँडेलले बताउनुभयो ।

२ बिघा ७ कठ्ठा १÷२ धुर जमिनमा सो प्रदर्शनी केन्द्र निर्माणपछि नेपालमा ठूला प्रदर्शनी हुने तथा व्यापार व्यवसायमा सहयोग हुने अपेक्षा गरेको छ । सुरुमा ३० करोड रुपैयाँमा निर्माण सम्पन्न हुने अनुमान गरिएको भएपनि ३७ करोड रुपैयाँको लगत ईष्टिमेट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV