३ कार्तिक २०७४, शुक्रबार

झापा । निजी वन लगाउनेको संख्या बढ्दै गएको छ । कम मेहनतमा मनग्य आम्दानी र वन पैदावारको माग बढ्दै गएपछि वर्षेनी निजी वन लगाउनेको संख्या बढ्दै गएको हो ।

जिल्लामा आव २०७२÷७३ मा १३.४ हेक्टरमा १४ वटा निजी वन लगाइएको थियो । आव २०७३÷७४ सो संख्यामा वृद्धि भई १७.३५ हेक्टरमा २३ वटा निजी वन लगाइएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

“पछिल्लो समय निजी वन लगाउनेको संख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “थोरै मेहनत र कम लागतमा मनग्य आम्दानी गर्न सकिने भएकाले पनि आकर्षण बढ्दै गएको छ ।” चालू आवमा हालसम्म दुई वटा निजी वन लगाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै, जिल्लामा निजी वनबाट आव २०७२÷७३ मा एक लाख ७५ हजार ६३१ क्यु फिट काठ उत्पादन भएको थियो । आव २०७३÷७४ मा २५ हजार ५८९ क्यु फिट काठ उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लामा हालसम्म ३९०.७३ हेक्टरमा ४०५ वटा निजी वन लगाइएको छ ।

LIVE TV