३ कार्तिक २०७४, शुक्रबार

काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धनले देशभरीको प्रदेश र प्रतिनिधिसभा चुनाव क्षेत्रको बाँडफाँटको टुंगो आज लगाउने भएको छ । लामो रस्साकस्सीपछि एमाले र माओवादी केन्द्र सहमति नजिक पुगेका हुन् ।

पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि लगभग सहमति भइसकेको वाम गठबन्धनले जनाएको छ । एकता संयोजन समिति र कार्यदलको संयुक्त बैठकले आज पनि छलफललाई निरन्तरता दिएको छ । अहिलेसम्म प्रतिनिधिसभाका लागि ३२ जिल्लामा सहमति जुटेको छ । २१ क्षेत्र एमाले र १६ क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ । यस्तै प्रदेशसभामा ७४ सिटमध्ये एमालेलाई ४१ र माओवादीलाई ३३ सिट भाग लगाइएको छ । आज साँझसम्ममा बाँडफाँट टुंगो लाग्ने एमाले उपाध्यक्ष भीम रावलले न्युज २४ टेलिभिजनलाई जानकारी दिनुभयो ।

गठबन्धनभित्रका अन्य दललाई दिएर बाँकी रहने कूल निर्वाचन क्षेत्रमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत क्षेत्र लिने सहमति भएको छ । त्यसैले वाम गठबन्धनभित्रका दल आ–आफूले लिने चुनाव क्षेत्रको छनौटको अन्तिम चरणमा छन् । माओवादी केन्द्र ५६ स्थानमा सहमत भएको बताइएको छ । यद्धपि छलफल जारी रहेको छ । १ सय ६५ स्थानमा केही साना वाम दललाई दिइने विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV