२ कार्तिक २०७४, बिहीबार

अब नेपालमै पाइलट तालिमका लागि विमानस्थल उपलब्ध हुने भएको छ । सरकारले राजविराजमा निर्माण भइरहेको विमानस्थललाई दीर्घकालीन रूपमा फ्लाई टेर्निंग स्थलका रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने भएको छ । ठूलो लगानीमा निर्माण भए पनि यात्रु उडानका आधारमा यो विमानस्थल कति चल्छ भन्ने ग्यारेन्टी छैन ।

सोहीकारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो विमानस्थललाई तालिमका लागि उपयोग गर्ने अवधारणा ल्याएको हो । यसबाहेक राजविराज एयरपोर्टलाई मेन्टिनेन्स एयरपोर्टको सम्भाव्यता अध्ययन गर्ने पनि मन्त्रालयको योजनामा उल्लेख छ । अहिले तराई भेगका सबै विमानस्थल अति व्यस्त छन् । यस अवस्थामा राजविराजको क्षमता अभिवृद्धि गर्दा यात्रु अभाव हुन सक्छ । त्यसको विकल्पका रूपमा जहाज मर्मत या पाइलट तालिम स्थलका रूपमा उपयोग गरिने मन्त्रालयको भनाइ छ ।

१६ कात्तिकभित्र सञ्चालनमा

राजविराज विमानस्थल १६ कात्तिकभित्र सञ्चालनमा ल्याइ सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना छ । त्यसबीचमा विमानस्थलको धावनमार्ग, ट्याक्सी वे, एप्रोनजस्ता क्षेत्र कालोपत्रे भइसक्ने प्राधिकरणको दाबी छ । यो विमानस्थल थप विस्तारको समेत योजना रहेको प्राधिकरणले उल्लेख गरेको छ । त्यसका लागि थप जग्गा अधिग्रहणलगायतका काम सुरु गर्न लागिएको प्राधिकरणको भनाइ छ ।

नेपालमा अहिले निर्माण सम्पन्न भएका र निर्माणाधीन गरी ५५ वटा विमानस्थल छन् । त्यसमध्ये ३२ वटा विमानस्थल मात्र सञ्चालनमा आएका छन् । अन्य विमानस्थल सडक यातायातको विस्तार, यात्रु अभाव, कच्ची संरचना, वायुसेवा कम्पनीमा जहाजको अभाव तथा साना जहाज विस्थापित गर्ने कम्पनीको योजनाका कारण बन्द अवस्थामा छन् । सञ्चालनमा आएका ३२ विमानस्थलमध्ये पनि बाहै्र महिना चल्नयोग्य विमानस्थलको संख्या भने २६ मात्र रहेको छ ।

त्रिभुवन विमानस्थल परिसरका विज्ञापन हटाइने

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरका व्यापारिक विज्ञापन हटाउने भएको छ । यस विमानस्थलबाट व्यापारिक विज्ञापन हटाउने योजनाबारे लामो समयदेखि चर्चा चले पनि सफल हुन सकेको छैन । व्यापारिक विज्ञापन हटाएर त्यसको स्थानमा डिजिटल होर्डिङ बोर्डमा नेपाली मौलिक कलाकृति झल्कने सामग्री राख्ने मन्त्रालयको योजना छ । अहिले विभिन्न निजी कम्पनीका ठूल्ठूला होर्डिङ बोर्डले विमानस्थललाई कुरुप बनाए पनि प्राधिकरण यी विज्ञापन हटाउन असफल रहँदै आएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV