२ कार्तिक २०७४, बिहीबार

हरिकृष्ण गौतम

म्याग्दी । राम्रो कमाउने आशमा विदेश पुगेर बिभिन्न हण्डर खाएकाहरु स्वदेश फर्केर बिभिन्न पेशा व्यवसायमा संलग्न हुँदै आएका छन् । दलालहरुको चंगुलमा फसेर विदेशमा दुःख पाएर फर्किएका कतिपय युवाहरु भने आगामी निर्वाचनका लागि खुलेको म्यादी प्रहरीमा भर्ना हुने होडबाजीमा लागेका छन् । म्याग्दीमा म्यादी प्रहरी बन्न विदेशबाट फर्किएका सयौ युवाहरुको लाइन देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा म्यादीमा आवेदन दिएका १ हजार ३२ जनामा खाडी मुलुकबाट घर विदामा आएका, विदेशमा कमाई नभएपछि दूतावासको सहयोगमा फर्किएका यूवाहरूको संख्या उल्लेख्य छ । साथै घरगृहणी, ज्याला मजदुरी गर्ने, ग्रामीण क्षेत्रमा ब्यवसाय गर्ने, क्याम्पसमा अध्ययरत विद्यार्थीको संख्या अत्याधिक रहेको छ । म्यादीमा भर्ना हुदाँ आर्थिक लाभसंगै दैनिक शारीरिक अभ्यास, सुरक्षा सम्बन्धि विभिन्न तालिम लगायत विभिन्न विषयमा जानकारी आवेदकको भनाई छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको जानकारी पाएपछि आवेदन दिएका पुगेकाहरु अनुभवीलाई प्राथमिकता दिने निर्णय थाहा पाएपछि भने निराश देखिएका छन् । दुईपटक म्यादीको जिम्मेबारी सम्हालेकाले समेत आवेदन दिएपछि पहिलोपटक आएकाहरूले लिखित तथा अन्र्तवार्तामा छनौटमा समस्या हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

गत बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन सुरक्षाका लागि म्याग्दीमा ४ सय १८ जना म्यादी प्रहरीहरु छनोट गरिएको थियो ।

LIVE TV