२ कार्तिक २०७४, बिहीबार

सविता उप्रेती

काठमाडौँ । दशैंको साइनो मासुसंग हुन्छ त तिहारको मिठाईसंग । अहिले बजारमा मिठाई पसलहरु बिभिन्न परिकारका मिठाईहरुले सजिएका छन् । विभिन्न पर्व र उत्सवहरूमा मिठाईको प्रयोग अनिवार्यजस्तै भएको हुनाले पछिल्लो समयमा नेपालमा मिठाईको व्यापार बढेको छ । त्यसमाथि तिहरामा मिठाईको माग अत्याधिक बढ्ने गरेको छ ।

नेपालीहरू विभिन्न विवाह, व्रतबन्ध, जन्मोत्सव आदिमा मिर्ठाईको प्रयोग गरिन्छ । दशैँ तिहार, तीज, मातातीर्थ औँसी आदिमा पनि नेपालमा मिठाईको व्यापार अत्याधिक बढ्ने गरेको छ । यस्ता चाडपर्वका बेला मिठाईको व्यापार दोब्बर हुने गरेको व्यवसायीहरूको भनाई छ । बनाउन छिटो र स्वादका हिसाबले मीठो हुने भएको हुनाले पनि यस्ता परिकारहरू धेरै मानिसको रोजाइमा परेको व्यापारीहरु बताउछन् ।

तिहारमा माता लक्ष्मीलाई प्रसादको रुपमा अर्पण गर्नदेखि लिएर भाईटीकाको दिन दाजुभाईलाई दिने मिठो उपहार पनि हो मिठाई । त्यसैले पनि तिहारमा हरेक घरमा मिठाईको प्रयोग अत्याधिक हुने गर्छ । यही कारण काठमाडौं उपत्यकाका हरेक मिठाई पसलमा पनि उपभोक्ताको उपस्थिति खचाखच देखिएको छ ।

मिठाईको प्रयोग हिन्दू समाजको बिभिन्न उत्सव र पर्वहरुको अनिवार्य परिकार नै बनेको छ । देवी देवतालाई चढाउनका लागि पनि उत्तम परिकार मानिने मिठाई शुद्द प्रसादकोरुपमा सबैले स्वीकार्ने चलन पनि छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV