२ कार्तिक २०७४, बिहीबार

काठमाण्डौ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन गर्न केही दिन मात्र बाँकी रहँदा एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनले क्षेत्र बाँडफाँट गर्न सकेका छैनन् । क्षेत्र बाँडफाँट र सिट संख्या टुग्यांउन दलहरुलाई संकट परेको छ ।

गठबन्धनले क्षेत्र बाँडफाँटका लागि कार्यदल गठन गरेपनि अझै सहमति जुट्न सकेको छैन । उम्मेदवार मनोनयन दर्ताको समय नजिकिदै जाँदा छलफलले तीव्रता पाएपनि सहमति हुन नसकेको नेताहरुले बताएका छन् । क्षेत्र र सिट बाँडफाँट कार्यदलमा एमालेबाट महासचिव ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव छन् । कार्यदलले दुई सातादेखि गृहकार्य गर्दा पनि अन्तिम टुंगो लगाउन नसकेपछि पार्टी एकता संयोजन समितिले बुधबार छलफल गरेको छ ।

संयोजन समितिमा एमालेबाट केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम छन् । त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ छन् ।ललितपुरको एक निजी घरमा भएको छलफल अन्तिम टुंगो लगाउने दिशामा अघि बढेको नेताहरुले बताएका छन् । यसैबीच संयुक्त घोषणापत्रमा समेत जनताको बहुदलीय जनवाद र माओवाद राख्ने विषयमा विवाद भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV