१ कार्तिक २०७४, बुधबार

प्रमुख तीन दलले आफ्ना शीर्ष नेताहरुलाई सर्वसम्मत निर्वाचित गर्ने गृहकार्य थालेका छन् । यस्तो समझदारी नेपाली कांग्रेससँग समेत गर्ने तयारी वाम गठबन्धनको शीर्ष तहमा भइरहेको जनाइएको छ ।

कम्तिमा तीन पार्टीका शीर्ष नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहजै विजयी हुनेगरी समझदारी गर्ने गृहकार्य भइरहेको बताइएको छ । वाम र लोकतान्त्रिक तालमेल गरी निर्वाचनमा जाँदासमेत शीर्ष नेताले जित्ने सुनिश्चित नहुँदा यस्तो समझदारी हुन लागेको बताइएको छ । निर्वाचनपछि सरकार र प्रतिपक्षी दलको नेतृत्व आफ्नै भागमा पार्ने उद्देश्यले सुन्दा अलि आश्चर्यलाग्ने समझदारीको परिकल्पना गरिएपनि यो अहिले गृहकार्यकै चरणमा छ ।

एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदल निर्वाचन सिट सम्बन्धी तालमेलको अन्तिम गृहकार्यमा लागेको छ । तालमेलको अन्तिम टुङ्गो लाग्नुअघि दुवै पार्टीका नेताहरु एमाले–माओवादी केन्द्रबीच मात्र होइन, सत्तारुढ नेपाली कांग्रेससँग पनि पनि केही सिटमा तालमेल गर्ने पक्षमा उभिएका हुन् । कम्तिमा तीनै पार्टीका मुख्य नेता विजयी हुने गरी तालमेलको प्रस्ताव गर्ने पक्षमा एमाले–माओवादी केन्द्रका नेताहरु पुगेका हुन् ।

यो सहमति अनुसार दुई पार्टीले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिस्पर्धा गर्ने क्षेत्रमा आफ्नो तर्फबाट उम्मेदवारी नदिने वा कमजोर उम्मेदवार दिनेछन् । त्यसको बदलामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिस्पर्धा गर्ने क्षेत्रमा कांग्रेसले पनि उम्मेदवार नउठाउने वा कमजोर उम्मेदवार दिने तयारी छ । यस सम्बन्धी प्रस्ताव छिट्टै कांग्रेससमक्ष लग्ने र त्यसमा सहमती भए ओली, दाहाल र देउवा निर्विरोध वा सहजै निर्वाचित हुने वातावरण बनाउने योजना छ । तर कांग्रेससँग यसबारे छलफलकै चरणमा रहेको बताइएको छ ।

 

LIVE TV