१ कार्तिक २०७४, बुधबार

काठमाडौं : मिठाई पसलमा भीड छ । साहूजीलाई कुरा गर्नु परैको कुरा, पैसा गन्नसम्म भ्याइनभ्याई छ । तिहार सबैभन्दा बढी मिठाई खपत गर्ने पर्व । नेपाल डेरी प्राइभेट लिमिटेडका निर्देशक अरनिको राजभण्डारीका अनुसार दसैं, तिहार, आमाको मुख हेर्ने दिन, दर खाने दिन, वैशाख १ गते पनि मिठाईको माग अचाक्ली बढ्छ । सामान्य दिनभन्दा यी दिनमा चार दोब्बर माग बढ्छ । तर, यतिकै लागि कामदार बढाउन नसकिने भएकाले व्यवसायीलाई पसलको व्यवस्थापन गर्न हम्मे पर्छ ।

मल्लकालमा भारत बैंगलोरको त्रिपुरासुन्दरीबाट मछिन्द्रनाथसँगै मिठाई बनाउने हलुवाई भित्रिएको इतिहास छ । तिनै हलुवाई कालान्तरमा राजकर्णिकारमा परिणत भए । राजकर्णिकारको रूपमा परिणत भएका हलुवाईबाट सुरुआत भएको मिठाई बनाउने र बिक्री गर्ने परम्परा अहिले पनि उपत्यकामा जीवितै छ । राजकर्णिकारले राजस्थानबाट थप कामदार भित्र्याइ मिठाईको कारोबार सुरु गरेका थिए ।

अनिल राजकर्णिकारका अनुसार मल्लकालीन समयमा दरबारमा दैनिक हुने पुजा आदि शुभकाममा राजकर्णिकारले तयार पारेको लाखमरी, ऐंठ, अनर्सा, मालपुवा, हलुवा, गुआरामारीलगायत ३२ प्रकारका मिठाई प्रयोग हुने चलन थियो । राजकर्णिकारले मरु टोल, पाटन, भक्तपुर, ललितपुरलगायत स्थानबाट नेपाली संस्कृति झल्कने मिठाईको कारोबार गरेको मानिन्छ । त्यसपछि राणाकालीन समय र शाहवंशीय समयमा पनि राजकर्णिकारकै मिठाई दरबारमा प्रयोग हुन्थ्यो ।

तत्कालीन राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रको समयमा पनि दरबारमा राजकर्णिकारले तयार पारेको स्वादिलो मिठाई पस्किने चलन थियो । नारायणहिटी दरबारमा राजकर्णिकारका लागि मिठाई तयार पार्ने स्थान नै छुट्टयाइएको थियो ।

समय परिवर्तनसँगै राजकर्णिकार परिवारकै खलकले पछि गएर थापाथलीमा राम भण्डार, श्याम भण्डार, टेकुमा काष्टमण्डप भण्डारलगायत करिब एक दर्जनको हाराहारीमा मिठाई बनाउने काम गर्दै आएका छन् । ‘उहिले हामीले तयार पार्ने मिठाई मात्रै बजारदेखि दरबारसम्म खान पाइन्थ्यो’, अनिलराज भन्छन,‘तर यो दिन धेरै समयसम्म टिक्न सकेन । हाम्रो परिवारका धेरै सदस्य यो पेसाबाट पलायन मात्रै भएनन् । विदेशिए पनि । त्यसपछि भारतबाट नेपाल आउने उच्च ओहोदाका व्यक्ति उतैबाट मिठाई बोकेर ल्याउन थाले । भारतीय मुलका कूटनीतिज्ञ, व्यापारी, कामदार घनत्व बढ्दै गएपछि विस्तारै भारतीय मिठाईको माग बढ्दै गयो । माग बढ्दै गएपछि भारतका प्रख्यात औद्योगिक घरानाबाट मिठाईको आयात हुन थालेको हो ।’

भारतीय मिठाईको तुलनामा नेपाली मिठाई गुणस्तरमा उच्च रहेको अनिल राजकर्णिकारको भनाइ छ । नेपाली मिठाई भन्ने बित्तिकै नाक खुम्च्याउने र आयातीत मिठाई भनेपछि मुख मिठ्याउने नेपालीको बानीका कारण नेपाली परम्परागत मिठाई विस्तारै बजार हिस्सा गुमाउँदै गएको उनको कथन छ । तर, पछिल्लो समयमा राजकर्णिकारले स्वदेशी मिठाईको स्तर सुधार गरेर ब्रान्डिङ गरी विदेशसमेत पठाउन थालेका छन् । उनी भन्छन,‘राज्यले स्वदेशी उत्पादनलाई प्रोत्साहन नदिएका कारण हाम्रो पुर्खौली पेसा विस्थापित हुने अवस्थामा छ ।’

भारतीय ब्रान्डको दबदबा
राजधानीमा परम्परागत मिठाई पसल खुम्चिँदै बन्द हुँदैछन्, भारतीय ब्रान्डका फ्रन्चाइजको विस्तार तीव्र गतिमा जारी छ । आँगन, रामेश्वर, गंगौर, गुलाबलगायत भारतमा चलेका ब्रान्डको आउटलेट खुलेको खुल्यै छन् । यस्ता ब्रान्डेड मिठाई सोरुमबाट जेरी अर्थात् जलेवी र जिल्फी, चकलेट बर्फी, पेडा, बेसनको लड्डु, मोतिचुड्को लड्डु, सुजीको लड्डु, मुंगको लड्डु, नरिवल लड्डु, मसला लड्डु, केसरी पेडा, रसवरी, रसगुल्ला, लाल मोहन, गुलाव जामुन, क्रिम मिठाई, काजुको मिठाईलगायत छन् । यस्तै कलाकन्द, काजुको बर्फि, कालो जामुन, दूध रवडी, दूधवरी, रस मलाई, गाजरको हलुवा, मुम्बई वदामी हलुवा, सनपापडी, घेवर, काजु कमल, खोया बदाम, राजभोग, बालु शाही, चन्द्रकलालगायत मिठाई बिक्रीवितरण हुँदै आएको छ । उपभोक्ताको स्वाद र छनोटअनुसार विभिन्न स्वाद र सुगर फ्री (चिनी नभएको) मिठाई पनि यस्ता प्रतिष्ठानबाट बजारमा उपलब्ध हुन थालेका छन् ।

विदेशी ब्रान्डसहित स्वदेशी व्यापारिक प्रतिष्ठान राम भण्डार, श्याम भण्डार, बागमती स्विट्स, अनमोल स्वीट्ससहित केही प्रमुख डेरी उद्योगले पनि विभिन्न प्रकारका मिठाई उत्पादन गर्दै आएका छन् । नेपाल डेरी प्रालिले ‘एनडीएस’ ब्रान्डमा र नेपाल दुग्ध विकास संस्थान (डीडीसी) ले विभिन्न प्रकारका मिठाई उत्पादन गर्दै आएको छ । डीडीसीले भने अहिले थप चार हजार बट्टामा लालमोहन, सोही परिमाणमा रसवरी र तीन हजार बट्टामा पेडा उत्पादन गर्ने काम सुरु गरेको छ । डीडीसीका उपमहाप्रबन्धक ईश्वरी अधिकारीका अनुसार समान्य दिनभन्दा चाडवाडमा २० देखि ४० प्रतिशतले मिठाईको माग बढ्छ । इन्फोदसैं, तिहार, आमाको मुख हेर्ने दिन, दर खाने दिन, वैशाख १ गते पनि मिठाईको माग अचाक्ली बढ्छ । सामान्य दिनभन्दा यी दिनमा चार दोब्बर माग बढ्छ । अन्नपूर्णपोष्ट बाट

LIVE TV